थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न

थारु समाज कास्कीले आफ्नो ११‍औं साधारण सभा सम्पन्न गरेको छ। पोखराको कार्की डाँडामा आयोजित सभामा जितिया विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। जितिया विशेष कार्यक्रम तथा भेलामा साँस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न ठाउँबाट कामको शिलशिलामा पोखरा आएका थारु ब्यक्तिहरुलाई समाजमा आबद्ध हुन् आह्वानसमेत गरिएको थियो।

‘हामी कामको शिलशिलामा विभिन्न ठाउँहरु जानुपर्ने हुन्छ। उक्त ठाउँमा हामी एकजुट भएर आफ्नो समुदायको साँस्कृतिक पहिचान झल्काउन पाउँदा निकै खुसी लाग्छ,’ समाजका अध्यक्ष विजेन्द्र चौधरीले भने, ‘हामी थारुहरु एकीकृत हुनुपर्छ भन्ने उद्देश्यले नै यो समाजको गठन गरेका छौं। पोखरा वा आसपास रहनुभएका हाम्रा दिदी तथा दाजुभाइहरु यस समाजमा आबद्ध हुन सक्नुहुन्छ।’

त्यस्तै प्रमुख अतिथि गुठीका अध्यक्ष एवं थारु कल्याणकारिणी सभाका उपमहामन्त्री मिनराज चौधरीले पोखराजस्तो पहाडी जिल्लामा थारुहरुको आफ्नै समाज हुनु धेरै राम्रो भएको बताए। हामी थारुहरु जहाँ गएपनि मिलेर बस्छौं भन्ने यो समाजले सन्देश पनि दिन खोजेको उनले बताए। कामको शिलशिलामा हामी जता पुगेपनि एकीकृत भएर आफ्नो समुदायको लागि योगदान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुन, भुजेल समाज सेवा समितिका अध्यक्ष पूर्ण बहादुर भुजेल, समाजका पूर्व अध्यक्ष सुमित्रा चौधरी, समाजका सल्लाहकारहरु प्रा डा राजेन्द्र चौधरी, आशिलाल चौधरी, सिताराम चौधरी, पुन निर्माण प्राधिकरण कास्कीका आयोजना प्रमुख उमेश कुमार चौधरी, समाजसेवी प्रदीप गच्छदार, चेतनारायण चौधरीलगायत अतिथिहरुले थारुहरुको हक अधिकारको सबालमा सबै एकजुट भई संघर्ष गर्नुपर्ने बताएका थिए। उनीहरुले असोज ३ गते पोखरामा पनि कालो दिन मनाउने बताए।

कार्यक्रममा चार सयभन्दा बढीको उपस्थिति रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *