दशैँको साँस्कृतिक यात्राका अनुभूतिहरु

सुशील चौधरी।
काठमाण्डौ बस्न थालेको पनि पाँच वर्ष पुग्न थालि सकेछ । देशको राजधानी आफैमा श्रोत र पहुँचको दृष्टिले महत्वपूर्ण होला । सबैखाले समुदायको बसोवास हुने भएकोले मिश्रित विचारको उद्भव हुनु, केन्द्रीय तहमा रहेर समग्रतमा सोच्नु पनि स्वभाविक होला । तर आफु जोडिएको भूगोल, समुदाय, समाज, संस्कृतिको भाव र मनोविज्ञानको अद्योपान्त बुझ्न भौतिक उपस्थिति अति महत्वपूर्ण हुँदोरहेछ । यही मनोविज्ञानका कारण यस वर्षको दशैंको लामो विदालाई साँस्कृतिक जागरण यात्रामा निस्कने सुर कसें मैले । निरन्तर थारु भाषा, साहित्य, लोकदर्शन, कला,संस्कृति र अधिकारको क्षेत्रम चिन्तन मनन, अध्ययन तथा अनुसन्धमा गर्दै लेखन कार्यमा सक्रिय रहेकाले ती सवालहरुलाई यात्राको विषयवस्तुु बनाउन मन लाग्यो । मैले आफ्नो योजना सुनाएपछि लेखक तथा पत्रकार कुष्णराज सर्वहारीले उत्साहित भएर आफू पनि यात्रामा रहने चाहना सुनाए । कुरै कुरामा भर्खरै संयुक्त राष्ट्रसंघीय आदिवासी सवालका लागि स्थायी सदस्यमा चुनिएका भएका कंचनपुरका फूलमान चौधरी पनि यात्राको सदस्य हुन आइपुगे । थारु पत्रकार संघ, बर्दियाका जिल्ला अध्यक्ष सर्मु चौधरीले यात्राको सदस्यका साथै छायाङ्कनको जिम्मा लिए । यसरी सानो योजना अन्तिम चरणमा पुग्दा गहन बन्न पुग्यो । थारु भाषाको एकमात्र दैनिक पत्रिका पहुरा दैनिका प्रकाशक तथा प्रधान सम्पादक स्माइल चौधरी जी पनि यात्रामा रहने भनेपनि पछि वहाँ आफ्नै विशेष कारणले जोडिन सकेनन् तर उनले टोलीलाई निरन्तर हौसला दिनुभयो । दांग देउखुरीका पत्रकार तथा साहित्यकार छवि कोपिला सदस्यका रुपमा जोडिनु भयो तर वहाँसंग दाङमा मात्र सहयात्रा गर्न सकियो । दाङ र बर्दिया जंग्रार साहित्यिक बखेरीले सहकार्य ग¥यो, जसमा सोम डेमनडौरा र ठाकुर अकेला भाइको विशेष भूमिका रह्यो ।

सखिया पैयाँको स्थलगत अध्ययन तथा संकलन गर्ने, सांस्कृतिक तथा साहित्यिक विमर्श गर्ने, इतिहास, कला र दर्शनबारे अग्रजहरुको अनुभवमुलक विचार सुन्ने, स्रष्टा पहिचान गर्नुकासाथै सीमान्तकृत समुदायको समसाययिक सवालबारे बहस गर्ने मुख्य उद्देश्य थिए, “डस्यक गोरपासुः पहिचान यात्रा” को। असोज २० गते देखि दाङबाट सुरु भएको यात्रा २३ गते बर्दियाको मनाउ गाविसको पर्सेनी गएर टुंगियो । यात्राका क्रममा दाङको हेकुलीको राटगाउँ, डुरुवाको धमकापुर, घोराही र देउखुरीको गढवामा यात्रा संवाद भयो । थारु प्रगन्ना विभाजन अनुसार पाटु प्रगन्नामा पर्ने हेकुलीको राटगाउँमा दिगो विकास नागरिक समाज (सुस)को व्यवस्थापनमा संवाद भएको थियो । गुरुवाहरुले थारु ज्ञान गुन लिन र लिएपनि व्यवहारमा लागु गर्न नयाँ पुस्ता उत्सुक नभएका कारण थारु लोक दर्शन, कला र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । दाङ राटगाउँका गुरुवा रजमान चौधरी, सर्वेश चौधरी, डिबुलाल चौधरी र बैद्य टेकबहादुर चौधरी भेटिए । जुझारु यूवाहरु टेकबहादुर चौधरी, बिरवल चौधरी र बालुराम चौधरीको सहकार्य र सहयोग लोभलाग्दो थियो । सबैले फेरी पनि आएर साँस्कृतिक संवाद चलाइदिन अनुरोध गरे । दाङ धमकापुरका थारु भाषामा शिक्षाका अभियन्ता रोहित चौधरीको संघर्षको कथा सुन्दा राज्यको शिक्षामा रहेको विभेदकारी नीति, व्यवहार र नियतमाथिको खोट छर्लंग थाहा पाउने अबसर मिल्यो । त्यति असहयोग, तिरस्कार र चुनौतीका बाबजुत पनि यात्रामा निरन्तर रहेका रोहित जीलाई सम्मान गर्न मन लाग्यो । जंग्रार साहित्यिक बखेरी, मलेसिया शाखा अध्यक्ष बुद्धिराम चौधरी, राम अनुरागी, विष्नु कुसुम भाई बहिनीले दिएको सम्मान पनि सम्झन लायक थिए । गोचाली परिवारका संस्थापक अभियन्ता भगवति चौधरीको पहिलो संस्मरण निबन्ध संग्रह मोर जियाके बाट देउखुरीको गढवामा विमोचन सारोहमा सहभागी हुँदा, सत्तरीको दसकमा हिडिरहनु भएका स्रष्टाको उर्जा देख्दा अरु धेरै लेखौ, कृतिहरु प्रकाशित गरौ भन्ने हुटहुटि जगायो ।

photo-of-dashain-gorpasu-yatra-releasing-books-and-albums-at-prsaeni-manau-bardiyaबाँकेको सोनारीक्षेत्र आफैमा थारु समुदायको बसोवास रहेको ऐतिहासिक भूगोल हो, त्यसैले पनि हामी सोलार (सोनारी)लाई विशेष महत्व दिएर हामी त्यहाँ पुग्यौं । थारु पत्रकार संघ, बाँके शाखा र स्थानीय क्लवहरुको पहलमा राम्रो तयारी गरिएको रहेछ । बाँके पत्रकार संघका अध्यक्ष बिमला चौधरी, हरचाली ठाँठी उद्योगकी संचालक तथा गायिका सुमित्रा चौधरी र संगीता चौधरी र लक्ष्मी चौधरीको सक्रियता र मेहनतले हामीलाई लोभ्यायो । त्यहाँ सोलार क्षेत्रका समुदायले गोरपासु पहिचान यात्रालाई जमेर स्वागत गरे र संवादमा पनि सहभागिता जनाए । संध्याकालीन साँस्कृतिक झांकीहरुले पनि माहोल तताएको थियो । बुढापाका अग्रज, गुरुवा, बडघर, संस्कृतिकर्मीहरु थारु लोकसाहित्य, संस्कृति तथा दर्शनबारे आफ्नो ज्ञान बाट्न लालायित भए । प्रतिभा देखाउन उत्सुक देखिए । सोलरियाहरु सांस्कृतिक संवादमा अब्बल देखिए । थारु संस्कृतिको स्थानीय हब बन्न सक्ने सम्भावना बोकेको सोलार छाड्न हामीलाई हम्य हम्य भयो । साँझ धित नमेटिएर भोली बिहान हामी धामपुर गाउँ गुग्यौं । जुन गाउँका कलाकारहरुले साँझ बेजोड मौलिक नृत्य प्रस्तुत गरेका थिए । हामीले सखिया नाचबारे छलफल चलायौं । एकजना सखिया गीत सिकाउने गायिकाले आफूले देवतालाई पुजा नगरी गीत नगाउने बताईन् । सह गायिकाहरुले भने गाउन तयार भए । गाउँमा सखिया नाच किन नाच्न छाडियो भन्ने जिज्ञासा राख्दा अगुवाहरुले केटीहरु नाच्न मन नगर्ने भने पनि हाम्रो वरिपरी झुम्मिएका युवतिहरुले तुरुन्त त्यो आरोपको मुतोड् जवाफ फकाए । उनीहरुले भने की केटाहरु मादल बजाउन तयार नभएका कारण उनीहरुले नाच्ने रहर मार्न परिरहेको छ । वातावरणमा सन्नाटा आयो । हामी मुखाकुख गयौं । यो सानो संवादले थारु संस्कृतिको अभ्यासको समस्या कहाँ छ भन्ने कुरा प्रष्ट गर्दछ जस्तो लाग्छ । बडघर र जानकार अगुवाले आगामी वर्ष सखिया नाच पुनः सुरु गर्ने प्रतिवद्धता जनाए । हामी खुशी भयौं । हामीले गाउँमा रहेको लोकगीत संकलन र प्रकाशन गर्न हौस्यायौं ।

बाँके टिटिहिरियाका भाई मनोज हर्डिउला, जो त्रिभुवन विव्विद्यालय, कीर्तिपुरमा स्नातकोत्तररत छन्, अति सुन्दर वान्कीमा कविता लेख्छन्, उनले पेडारीमा हुने कार्यक्रमका लागि निम्तो दिएका थिए । हाम्रो टोली हुर्रिएर त्यहाँ पुग्दा कार्यक्रम स्थगित गरिएको रहेछ । आइसकेपछि सामान्य भेटघाट भएपनि गरौ भनेर टिटिहिरिया गाउँमा पुगियो । अनौपचारिक वार्तालाप सुरु भयो । मग्टु थारु, फग्गुलाल थारु लगायतका लोक कलाकारहरुले थारुलोकगीत फुलवार, कहरा जस्ता गीत गाउने गरेको थाहा भयो । टिटिहिरिया गाविसको थपुवा गाउँका पूर्व मन्त्री

फत्तेसिंह थारु, उनका भाई फुलसिह सिंह थारु, चर्चित मोडेल र टेलिभिजन पत्रिकार शिवानी सिंह थारु, अधिवक्ता केवल सिंह थारु, सामाजिक अभियन्ता पन्नेलाल थारु लगायत दर्जनौ राष्ट्रिय व्यक्तित्व जन्माएको भूमि हो । तर केही समय पहिले देखि टिटिहिरियाको चर्चा सेलाउँदै गएको सन्दर्भमा कुरा चल्दा हरेक क्षेत्रबाट सम्पर्कमा नरहेको, बहिस्करणमा परेको गुनासो पोखे । आफ्नै सक्रियतामा पनि कमी आएको स्वीकार स्वीकारियो । एक रिटायड् शिक्षक फग्गुराम थारुले पुरानो लोकसाहित्य प्रकाशनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाए ।
हामी त्यसैमा चित्त बुझाएर बर्दियाको बांसगढी तर्फ हुइकियौ । बांसगढीमा गुर्वावा एफ.एम.का संस्थापक पत्रकार तथा संस्कृतिकर्मी एकराज चौधरी हामीलाई कुरिरहेका थिए । उनले किन उम्कन दिन्थे र, पुग्नेवितिकै स्टुडियोमा हुलिहाले । म, सर्वहारी र फुलमान जी तीनैजनालाई यात्राको उद्देश्य, साहित्य, संस्कृति तथा अधिकारका सवालमा प्रश्नको वर्षा गरे । स्टुडियोबाट निस्कदा झिसमिस अंध्यारो भइसकेको थियो । गोरपासु यात्रा लम्कियो, मेरो गाउँ मयुरवस्ती तिर । पुग्दा नपुग्दै भारी वर्षा भएकोले तय भएको कार्यक्रम स्थगित भएकोले थकान पनि अतिनै थियो, खानपिन गरी आराम गरियो ।

Sushil Chaudharyबिहानै उठेर राजापुर हिंडियो । मनाउको पर्सेनी जुन गाउँ आजकल राजापुर क्षेत्र जसलाई थारु समुदायले भौंरा टप्पा भनेर चिन्दछन् । कविला यूवा समाज, मनाउले हरेक वर्ष माघी साँस्कृतिक महोत्सव गर्ने जाँगर राख्दछ । त्यस्तो सामुहिक शक्ति बनेको छ कविला । त्यस्तो थलोमा हामीले सांस्कृतिक संवाद गयौं । हामीले राजापुरलाई यस कारण पनि यात्राको केन्द्रविन्दुमा राख्यौ, जहाँ पहाडी चौधरी, सरस्वति चौधरी, शिवानी थारु, प्रवेश चौधरी, ठाकुर अकेला जस्ता दर्जनौ रगकर्मीहरु पनि जन्माएको छ, उनीहरुको सपना छ, राजापुरमा थारु नाट्य घर निर्माण गर्ने । उनीहरुलाई पनि हौस्यायौं।

बर्दिया पर्सेनीको बखेरीमा सामाजिक अभियन्ता बालिका चौधरीको जीवनका बक्ररेखाहरु पुस्तक विमोचन, गायक दर्पन कुसुम्याको पुनवासी ओजरिया र गजलकार श्याम सराबीको हिरडा गीति एल्बम लोकार्पण भयो । संवादमा साहित्य र संस्कृतिलाई रोजगारी संग जोड्नु पर्ने त्यसाका लागि व्यवसायिकरण गर्नुपर्ने कुरामा जोड दिइयो । सौभाग्य भनौ थारु भाषाको पहिलो पत्रिका गोाचाली, २०२८ मा कविता छपाएका अग्रज स्रष्टा कालिदास थारु पनि कार्यक्रममा सहभागि हुनुहुन्थ्यो । वहाँले थारु साहित्य र चेतनाको स्तर उठ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । बर्दिया क्षेत्र नं ४ का माननीय साँसद मानवहादुर चौधरीले यात्राको सराहना गर्नुभयो । आफ्नो सहयोग रहने बचन दिनुभयो । पर्यटन व्यवसायी एवं समाजसेवी ब्यवसायी मोहन थारुले लोकर्पण भएका कृतिका कृतिकारहरुलाई जनही दस–दस हजार रुपैयाँ प्रोत्साहन स्वरुप उपलव्ध गराउने घोषणा गर्नुभयो । लामो समयदेखि हराएका थारु कथा लेखनमा प्रवल सम्भावना बोकेका नरेश लालकुसुम्या पनि त्यही फेला परे । उनले कथा संग्रहको तयारी गरिरहेको थाहा भयो ।

स्थानीय सहकार्य यस यात्राको सवल पक्ष रह्यो । दाङमा सुस संस्था र गुर्वावा सहकारीले हेकुलीमा, धमकापुरमा जंग्रार साहित्यिक बखेरीले, घोराहीमा थारु पत्रकार संघ र भौरा फिलिम टिम, देउखुरीमा थारु भाषा, साहित्य तथा संस्कृति उत्थान मंच लगायतका साहित्यिक संस्थाहरुले हातेमालो गरे । बाँकेमा थारु पत्रकार संघ र स्थानीय क्लवहरु अनी टिटिहिरियामा मनोज हर्डिउलाको प्रयत्न प्रशंसनीय रह्यो । बर्दिया बांसगढीमा गुर्वावा एफ.एम, मयुरबस्तीमा मयुर सांस्कृतिक परिवारको सहकार्य रह्यो । राजपुर, मनाउ, पर्सेनीमा जंग्रार साहित्यिक बखेरी, बर्दियाली थारु विकास मंच, कर्मशील नेपाल, थारु पत्रकार संघको सहयोग र सहकार्य उदाहरणीय थियो ।

कीर्तिपुरमा क्रियाशील ठूम्रार साहित्यिक बखेरीको संयोजनमा सम्पन्न साहित्यिक र साँस्कृतिक यात्रा उपलव्धी मुलक रह्यो । यसै वर्षको बैशाखको पहिलो हप्तामा दाङमा भएको पहिलो साहित्यक मेला, साउनको पहलो हप्तामा घोराहीमा भएको भाषिक मानकाता गोष्ठी पछिको ठूलो अभियान थियो दशैको सांस्कृतिक अभियान, त्यसैले पनि भाषिक मानकताबारे बहस, साँस्कृतिक पुनर्जागरण र पहिचानका लागि सवाल उठानका सन्दर्भमा ऐतिहासिक रह्यो । यसका बावजुद, यात्रा पश्चिम नेपालमा मात्र केन्द्रीत हुनु, राजनीतिकर्मीहरु संग सोचेजति संवाद हुन नसक्नु, थोरै समयमा धेरै ठाउँमा यात्रा तय गर्नाले गहन संवाद हुन नसक्नु यात्राका सुधारयोग्य पक्ष हुन् । यति ठूलो भाषिक, साहित्यक तथा साँस्कृतिक अभियानले मूलप्रवाह मिडियामा यथोचित स्थान नपाउनु पनि चिन्ताको विषय हो । समावेशीता र अर्थपूर्ण प्रतिनिधित्वको सवालका लागि अवाज उठिरहेको बेलामा मौनता वा उदाशीनता शोभनीय छैनन् । के नेपाली भाषाी बाहेकका भाषा साहित्यले मोफसलकै मात्र भर पर्नुपर्ने हो त ? हरेक गाउँ ठाउँमा केही न केही भइरहेकाले साँस्कृतिक जागरण आइरहेको यसलाई एकआपसमा जोड्नु पर्ने आवश्यकता रहेको बेलामा गरिएको गोरपासु पहिचान यात्राले संजीवनीको काम गरेको छ। यस ऐतिहासिक अभियानलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सघाउने सबै व्यक्ति, समूह, संस्था र समुदाय धन्यवादको पात्र छन् ।
sushildtharu@gmail.com
कालिका–३, मयुवस्ती, बर्दिया, हाल ः भैसेपाटी, ललितपुर




Leave a Reply

Your email address will not be published. Required fields are marked *