‘सांसद चौधरीलाई जन्मकैदको फैसला गर्ने अदालतले प्रचण्ड, ओलीलाई किन जन्मकैदको सजाय नदिएको’

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।

पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरू गर्ने घोषणा गरे।

‘जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरू हुने’ नेता महतोको दाबी छ।

नेता महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश व्यक्त गरे।

जिल्ला अदालत कैलालीले बुधबार टिकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो। त्यसप्रति नेता महतोको आपत्ति छ।

नेता महतोले बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौधरीलाई जन्मकैदको सजाय दिने प्रवृतिविरूद्ध आन्दोलन गर्ने चेतावनी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *