थारु समुदायको मुद्दामा केन्द्रीत ‘झुम्की’ आजदेखि प्रदर्शन

दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ। तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ।

सिनेमा आर्टस्को प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक विष्टकै लगानी छ । विष्टले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसकेका छन्।  स्थानीय थारु भाषासमेत प्रयोग गरिएको ‘झुम्की’को कथा रामबाबु गुरुङले लेखेका हुन्। चलचित्रमा रिश्मा गुरुङ, दयाहाङ राई, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतले अभिनय गरेका छन्।

रिश्मा चलचित्र ‘कबड्डी कबड्डी’की नायिका हुन्। उनले चलचित्र ‘झुम्की’मा मुख्य पात्र झुम्कीकै भूमिका निर्बाह गरेकी छन्। चलचित्रमा कालीप्रसाद बाँस्कोटा र हेमन्त रानाको सङ्गीत छ। चलचित्रबाट आशावादी रहेका निर्देशक विष्टले ‘झुम्की’ले सामाजिक यथार्थता रहस्यहात्मक ढङ्गले देखाएको बताउँदै यसबाट दर्शकले पूर्ण मनोरञ्जन लिने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *