शेरबहादुर देउवाको हातमा डाडु पुन्यू पुगेपछि थारुको माग पूरा हुन्छ : पद्मनारायण चौधरी

नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरीले शेबहादुर देउवाले थरुहट मुद्दा मिलाउने दाबी गरेका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनलाई सोधिएको  ‘थरुहटको माग पूरा हुन दिन्न, थारुलाई एक इन्च जमिन पनि दिन्न भन्ने त शेरवहादुर देउवा तपाईकै पार्टीको सभापति हुनुभएको छ, अब कसरी मिल्छ ?’ भन्ने प्रश्नमा सांसद चौधरीले भनेका छन्- ‘अब शेरबहादुर देउवाले मिलाउनुहुन्छ जस्तो लाग्छ। उहाँको हातमा डाडु पुन्यू पुगेपछि उहाँले त आफ्नो बोलीमात्र बोल्न मिलेन। उहाँले सबैलाई मिलाएर सबैको भावना बुझेर अघि बढ्नुपर्छ। नत्र चुनावमा कांग्रेसलाई त असर गर्छ।’

उनले अहिले मुख्य समस्य थारुहरुको रहेको उल्लेख गरेका छन्। टीकापुर काण्डको समाधान अझै नभइसकेको बताउँदै उनले थारु समुदाय सुसुप्त अवस्थामा रहेको बताएका छन्। ‘टीकापुरको छिनोफानो गरेर थरुहटको माग सम्बोधन गर्न सकियो भने समस्या समाधान सहज हुन्छ,’ उनले भने।

उनले संविधान संसोधनबारे भने- यो धेरै जटिल भइसकेको छ । सुरुमै हाम्रा नेताहरु दूरदर्शी हुन सक्नुभएन। उहाँहरु मुख्य चार दल सुरुमा ८ प्रदेशमा सहमत हुनुभएको थियो। पछि प्रदेश बनाउने बेलामा ६ प्रदेश बनाउनुभयो। उहाँहरु ६ प्रदेशमै अडिग भएर जनताबाट उठेका असन्तुष्टि र मागहरुलाई त्यसैभित्र समाधान गर्न सकेको भए आज यो अवस्था मधेसमा आउने थिएन । तराई मधेसमा जुन अवस्था आज आएको छ, उहाँहरु ८ बाट ६ प्रदेशमा जानु र ६ मै टिक्न नसकेर ७ प्रदेश बनाउनु नै दुर्भाग्य हो । उहाँहरुले यसअघि नै कर्णाली र थरुहटलाई स्वायत्त क्षेत्रको मान्यता दिएको भए कुरा सकिन्थ्यो । उहाँहरुले मधेसलाई २ नम्बर प्रदेश दिनुभयो । तर, थरुहटलाई कुनै मान्यतै दिनु भएन ।

यसलाई कांग्रेसकै प्रस्ताव त नभन्नुस् तर हामीले एउटैमात्र उपाय देखेका छौं ८ प्रदेश मा जाने । ६ बाट सात प्रदेशमा जान हुन्छ भने ७ बाट ८ प्रदेशमा जान किन नहुने ? म नेताहरुलाई भन्छु, ८ औं प्रदेशमा जाने हिम्मत छ भने मधेसको समस्या समाधान हुन्छ । म त भन्छु प्रदेशको सीमांकनका सवालमा नेताहरु हारिसक्नुभएको छ ।हामी कांग्रेस चाहान्छौं कि तराईमा एउटा वा दुईटा होइन बहुप्रदेश हुनुपर्छ । अहिले हामीले भनेका छौं तराई मधेसमा ३ प्रदेश बनाउँ । त्यसका लागि आठौं प्रदेश भनेको सिराहादेखि झापासम्मको हुन सक्छ । झापा, मोरङ, सुनसरीको मात्रै पनि हुनसक्छ । त्यसमा सप्तरी र सिराहा पनि मिसाउँ भन्ने हाम्रो भनाइ हो । त्यसपछि धनुषादेखि नारायणघाटसम्मको एउटा प्रदेश र नवलपरासीदेखि बर्दिया वा कैलालीसम्मको अर्को प्रदेश गरेर मिलाउन सकिन्छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *