डोल्पाको गुम्बाबाट चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति चीनको एनसीएचएमा फेला, फिर्ता दिन आनाकानी

डोल्पाको गाकर गुम्बाबाट चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति चीनमा फेला परेको छ। पुरातत्व विभाग स्रोतका अनुसार उक्त मूर्ति चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासन (एनसीएचए)मा फेला परेको हो। स्रोतका अनुसार चिनियाँ तस्कहरूले उक्त मूर्ति चोरी गरेर त्यहाँ पुर्‍याएका हुन्।

शाक्यमुनि बुद्धको मूर्ति चोरेर चिनियाँ तस्करहरूले बेइजिङस्थित चाइना गार्डियन इन्टरनेशनल अक्सन (सीजीआइए)मा लगेका थिए, त्यहाँबाट चिनियाँ अधिकारीहरूले एनसीएचएमा ल्याएको स्रोतको दाबी छ।

बेइजिङजस्थि नेपाली दूतावासले उक्त मूर्ति नेपाललाई फिर्ता गर्न आग्रह गरेको छ। नेपालको इतिहाससँग जोडिएको उक्त मूर्ति फिर्ता गर्न पटक-पटक आग्रह गरिए पनि कुनै प्रतिक्रिया नआएको नेपाली दूतावासका अधिकारीहरूले गुनासो गरेका छन्।

‘७ वर्षअघि डोल्पाको गुम्बाट चोरी भएको उक्त मूर्ति चीनको एनसीएचएमा रहेको पुष्टि भइसकेको छ। नेपालको इतिहाससँग जोडिएको उक्त मूर्ति फिर्ता गर्न हामीले पटक-पटक आग्रह गरेका छौं। तर चीन सरकारले आधिकारिकरूपमा कुनै जवाफ दिएको छैन,’ दूतावासका एक अधिकारीले भने।

शाक्यमुनि बुद्धको उक्त मुर्ति १५औं शताब्दीमा डोल्पाको गाकर गुम्बामा निर्माण तथा स्थापना भएको बताइन्छ। गाकर गुम्बामा रहेको उक्त मूर्ति विसं २०७३ जेठ १२ गते चोरी भएको थियो। करिब ७ वर्षपछि नेपाली अधिकारीहरूले नेपालको बहुमूल्य सम्पदा चीनले खोसेको थाहा पाएका थिए। भगवान बुद्धको महान ज्ञान (महापरिनिवर्ण)सँग जोडिएकाले पनि उक्त मूर्ति नेपालका बुद्ध धर्मावलम्बीहरूका लागि भावनात्मक मुद्दा बनेको छ।

नेपालमा पछिल्लो समय चिनियाँ नागरिकबाट हुने अपराधिक क्रियकलाप बढेको छ। हिमालदेखि तराईका भूभागसम्म चिनियाँ तस्कहरू सक्रिय भएका छन्। चिनियाँ तस्करहरूले नेपालबाट ऐतिहासिक र प्राचीन मूर्तिहरू चोरेको यो पहिलो घटना पनि होइन।

नेपालको बहुमूल्य सम्पदा चीनको म्युजिममा रहेको थाहा पाउँदापाउँदै पनि फिर्ता ल्याउन नसक्नु सरकारको कमजोरी रहेको ती स्रोतको भनाइ छ। ‘पुरातत्व विभागमा प्रमाण भए पनि चीनबाट कुनै कारबाही हुन सकेको छैन। यस मामिलामा चिनियाँ अधिकारीहरूले ती तस्करहरूलाई संरक्षण गरेको भान हुन्छ,’ पुरातत्व विभाग स्रोतले भन्यो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *