कांग्रेसको थारु मन्त्री को ?

 नेवि संघको विवादका कारण नेपाली कांग्रेसले अझैसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको टुंगो लगाउने बताएका छन् । एमाओवादीले पहिलो लटमै थारु मन्त्रीको शपथ गराए । नेपाली कांग्रेसबाट कसले शपथ लेला भन्ने चर्चा आम थारु समुदायमा छ ।

नेपाली कांग्रेसमा करिब आधा दर्जन थारु सांसद मन्त्री बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् । स्रोतका अनुसार पद्मनारायाण चौधरी, दिल्ली चौधरी, सुशीला चौधरी र तेजुलाल चौधरीले नेतृत्वलाई मन्त्री बनाउन दबाब दिइरहेका छन् । यीमध्ये पद्मनारायाण र दिल्लीमध्ये एकको सम्भावना बढी रहेको  स्रोतले बतायो ।

त्यसो त खुमबहादुर खड्काले जसरी पनि सुशीला चौधरीलाई मन्त्री बनाउन दबाब दिइरहेका छन् । तेजुलाल चौधरीले पनि आफ्नो सम्भावना बढी रहेको आफ्ना नजिकका साथीहरुलाई बताउने गरेको स्रोतले बतायो । ‘मन्त्री बन्ने आकांक्षी धेरै छन् । अब सभापतिज्युले कसको नाम पठाउनुहुन्छ हेर्न बाँकी छ,’ स्रोत भन्छन्, ‘थारुमा पद्मनारायाण, दिल्ली, सुशीला र तेजुलाल चैधरीले ब्यापक लबिङ गरिरहेका छन् ।’

उसो त सुरेन्द्र चौधरी पनि पार्टीमा थारुमध्येका सिनियर नेता मानिन्छन् । कोइराला क्याबिनेटमै उनले परराष्ट्र मन्त्रालयको दाबी गरेको चर्चा त्यसबखत चल्ने गरेको थियो । अहिले भने उनको चर्चा त्यति भएको छैन । कांग्रेसभित्र विद्रोह गरिरहेका उनले पार्टीलाई राजीनामा पत्र बुझाएका थिए । तर देउवाले फकाएपछि उनले राजीनामा फिर्ता लिएको चर्चा  कांग्रेसजनमा ब्यापक छ । तर सार्वजनिक रुपमा उनले राजीनामा पत्र फिर्ता लिएको बताएको छैन ।

तत्कालीन सभापति सुशील कोइरालाको क्याबिनेटमा पद्मनाराण चौधरी मन्त्री बन्ने ब्यापक चर्चा भए पनि अन्त्यमा उनको नाम मन्त्रीको नामावलीमा परेको थिएन । देउवाले अब क-कसलाई मन्त्री बनाउने हो हेर्न बाँकी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *