भिडियो खिचेको भन्दै पत्रकार किशोर चौधरीमाथि प्रहरीको लाठी प्रहार

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको क्यामेरा पनि प्रहरीले फुटाइदिएका छन्।

प्रहरी आक्रमणबाट घाइते भएका चौधरीलाई सानेपास्थित स्टार हस्पिटल पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा ल्याएको एभिन्युजका सिनियर अपरेशन अफिसर मनोज न्यौपानेले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेकाले उनको सिटिस्क्यान गर्नुपर्ने डाक्टरहरुले सल्लाह दिएका छन्। सोहीअनुसार अहिले ब्लुक्रसमा राखिएको न्यौपानेले जानकारी दिए।

Kishor chaudhary 01राज्यले नै चौथो अंगको दर्जा दिएको प्रेसमाथि राज्यबाटै भएको आक्रमणको थारु पत्रकार संघ नेपालले भर्त्सना गरेको छ। भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध भएको भन्दै संघले कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग मागसमेत गरेको छ।

चौधरी थारु पत्रकार संघ नेपालको सदस्य हुन्।

तस्बिर सेतोपाटी




Leave a Reply

Your email address will not be published. Required fields are marked *