स्थानीय पुनर्संरचनामा चितवनका थारुहरुले चासो

कारी महतो/चितवन

स्थानीय सरकारको पुनर्संरचनामा चितवनका थारु समुदायले चासो लिन थालेका छन्। जिल्ला विकास समिति चितवनको प्राविधिक समितिले प्रस्ताव गरेको चितवनका नगरपालिका र गाविसहरु मर्ज गरी थोरै संख्यामा नगरपालिका र गाउँपालिका निर्माण गर्ने खाकाको विषयमा सुझाव पेश गर्ने करीब अन्तिम समयमा थारु समुदाले यस सम्बन्धि चासो लिन थालेका हुन्।

यसैसम्बन्धी जिज्ञासा राख्दै थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति विश्राम महतोलाई सुझाव पेश गर्नका लागि थाकसले किन ढिलो गरेको भन्ने प्रश्नको प्रतिउत्तरमा उनले ठट्यौली पाराले उत्तर दिए- ‘थाकस चितवन जिल्ला कार्यसमिति एउटा अजिंगर हो, यसले आफ्नो शरीर विस्तारै चल्मलाउँछ।’

ढिलै भए पनि थाकस चितवनले शहिद कमल विपिन स्मृति प्रतिष्ठानको सहकार्यमा साउन २८ गते शुक्रबारका दिन चितवन जिल्ला विकास समितिको सानो सभा हलमा ‘स्थानिय सरकारको पुनर्संरचनामा थारुहरुको स्थान र सबाल’ विषयक जिल्लास्तरिय कार्यशालाको आयोजना गर्ने भएको छ। कार्यक्रममा श्रोतव्यक्तिका रुपमा राज्य पुनर्संरचनाका पूर्व सदस्य प्रा. डा. कृष्ण हाछेथू आउने जानकारी प्राप्त भएको छ। त्यसअघि साउन २२ गते पूर्वी चितवनमा थारु थाकस लगायतका संघसंस्थाहरुले एक चरणको कार्यशाला सम्पन्न गरी थारु अगुवाहरुबाट सुझाव संकलन गरेको छ।

थारु समुदायले थरुहट थारुवान प्रदेशका लागि आन्दोलन गरिरहेको भए तापनि चितवन जिल्ला थरुहट वा थारुवान प्रदेशमा नपर्ने पक्कापक्की जस्तो भएपछि २०७२ सालदेखि चितवनका थारु समुदायले चितवनलाई प्रादेशिक केन्द्र कायम गरी चितवन पूर्व र पश्चिमका केही जिल्लाहरुलाई समेटेर प्रदेश बन्नुपर्ने धारणा समेत राखेर आन्दोलन गरेका थिए। तर त्यसमा थारु बाहुल्य रहेका क्षेत्रहरुलाई समेटेर थारु स्वायत्त क्षेत्र वा थारु संरक्षित क्षेत्रको माग राखी मुख्य दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। थारु स्वायत्त क्षेत्र वा थारु संरक्षित क्षेत्रका लागि मुख्य दलका नेताहरुले सकारात्मक आश्वासन दिएपछि चितवनको आन्दोलन मत्थर भएको थियो।

तर हाल चितवन जिल्लाको स्थानिय तहको पुनर्संरचना भैरहेको अवस्थामा चितवनका थारु समुदायको मूलमर्म पुनः कुठाराघात हुने देखिएछि चितवनका थारुहरु फेरि सचेत हुन थालेको देखिन्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार चितवनमा थारु समुदायको संख्या ६३,३५९ रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *