Sujata Koirala.JPG
Sujata Koirala.JPG

 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३औं महाधिवेशनमा सभापति पदका लागि उम्मेद्‍वारी घोषणा गरेकी छन्। उनले आफ्नो उम्मेद्‍वारी कुनै पदको बार्गेनिङका लागि नभएको दाबी गर्दै आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताइन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘मैले बार्गेनिङको लागि सभापति पदमा उम्मेद्‍वारी घोषणा गरेकी होइन, म धेरै अगाडि बढिसके। अब पछि हट्ने सम्भावना छैन। अब मलाई अरुले सपोर्ट गर्नुपर्छ। म यसपटक पनि ब्याक भए कांग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ।’

कोइरालाले आफूलाई कांग्रेसका देशैभरिका कार्यकर्ताको समर्थन रहेको दाबी गर्दै विजयी हुने दाबी गरिन्। ‘म देशभरि घुमेकी छु। मलाई सभापति पदमा उम्मेद्‍वार बन्न साथीहरुको धेरै दबाब छ,’ उनले भनिन्, ‘देशैभरि मैले समर्थन पाएकी छु। १२औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हुँ, सधैंभरि मैले मात्रै त्याग गर्ने कुरा हुँदैन।’

कोइरालाले पार्टीभित्र बीपीदेखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने डिजाइन भइरहेको भन्दै उनले आफू र कांग्रेसलाई पनि समाप्त पार्ने षड्यन्त्र भइरहेको बताइन्। ‘त्यसबाट कांग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ,’ उनले भनिन्, ‘मेरो उम्मेद्‍वारीले समस्या हल गर्छ।’

कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे युवालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान बिर्सिए कांग्रेस नै समाप्त हुने चेतावनी दिइन्। उनले कोइराला परिवारको समेत आफूलाई समर्थन रहेको दाबी गर्दै बाहिर आएका कुराहरु गलत भएको दाबी गरिन्। ‘शसांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ। मलाई उनीहरुले समर्थन जनाएका छन् र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन्,’ उनले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *