Madhesi Morcha

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ। मधेसी मोर्चाको शनिबार बसेको बैठकले सचिवालय विस्तार गरेको छ। मोर्चामा थपिएकमा तीन दललाई समेटेर सचिवालय विस्तार गरिएको हो। बैटकले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।

सद्भावनाका महासचिव मनिष सुमनका अनुसार सुरुमा दबाबमुलक आन्दोलनका कार्यक्रम गरिनेछ। ‘अहिले पनि हामी आन्दोलनमा नै छौं। आमहड्ताल र नाकाको धर्ना मात्र स्थगित गरेका हौं,’ उनले भने। मधेसी मोर्चाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको निष्कर्ष निकालेको छ।

राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै मोर्चाद्वारा आपत्ति
मोर्चाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयुक्त विज्ञप्ति नआउनुलाई र ओलीको गुजरात भ्रमणका क्रममा नेपाली झण्डाको अपमान हुँदासमेत सरकारले आपत्ति प्रकट नगरेको भन्दै विरोध जनाएको छ।

nepal-flag

मोर्चाको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतसँग भएको सात बुँदे सहमति २००९ कै कुरा दोहोर्याएको भन्दै प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको ठहर गरेको छ। मोर्चाले नाकाको अवरोध पूर्णरुपमा हटिसक्दा पनि इन्धन र ग्यासको वितरण प्रणाली सहज नहुनु, तस्करी र कालाबजारी अझै कायमै रहनुले सरकार आफै भ्रष्टाचार र कालोबजारीमा लिप्त रहेको प्रमाणित भएको दाबाी गरेको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ- ‘सर्वसाधारण जनतालाई इन्धन र ग्यास लगायत अत्यावश्यक उपभोग्य सामाग्री सहज ढंगले उपलब्ध गराउन र लूटतन्त्रलाई तत्काल नियन्त्रण गर्नुपर्छ। साथै भूकम्प पीडितहरुलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ।’

यसैगरी मोर्चाले आन्दोलन अवधिभरको यातायातमा लागेको जरिवाना, बैकको व्याज मिनाहा, विद्यालयमा विद्यार्थीको मासिक शुल्क पूर्णरुपमा मिनाहा लगायत अन्य सरकारी निकायहरुमा लाग्ने कर, दस्तूर वा जरिवाना नलिन सरकारसँग माग गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *