Bijay Gachhadar

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा आन्दोलनरत दललाई मुलुकको गम्भीरतालाई ध्यानमा राखी वार्ता र छलफलबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुलको स्थलगतपछि पत्रकारसँगको भेटघाटमा गच्छदारले नेपाली जनतालाई दुःख, कष्ट र पीडामा धकेलेर आन्दोलन गरिरहनु नेपाली जनताप्रतिको जिम्मेवारी हुन नसक्ने बताए ।
सरकारको वार्ता टोलीसँग निर्णायक वार्ता गरेर समास्याको समाधान खोज्नुको विकल्प नरहेको उनले बताए । प्रदेश र सीमाङ्कनका विषयमा मधेसवादी दलले गरिरहेको आन्दोलनलाई लम्ब्याउनुभन्दा पनि वार्ता र छलफलबाट निकास खोज्नु उत्तम भएको उनले बताए ।

उपप्रधानमन्त्री गच्छदारले भारतको अघोषित नाकाबन्दी छिट्टै हट्ने विश्वास व्यक्त गरे। नाकाबन्दी र आन्दोलनका कारण देशमा अहिले छ खर्बको क्षति भएको उनले बताए । उपप्रधानमन्त्री गच्छदारले निर्माणाधीन मेची पुल आगामी पाँच महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए।

झापाको केचनादेखि चारआलीसम्मको ग्रामीण हुलाकी बाटो निर्माण गर्न केही प्राविधिक त्रुटि रहेको भन्दै उनले निर्माणका लागि जिम्मामा रहेको भारत सरकारसँग पनि पहल गरिने बताए । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *