खिचरा महोत्सवमा मन्त्रीले भने- औंलोलाई थेगेर आफ्नो सँस्कृति बचाउने थारू समुदायलाई स्यालुट छ

कारी महतो। चितवन

औंलोलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्न चाहेको बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री बहादुर सिं लामाले बताएका छन्। ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा सँस्कृति नेपालको पहिचानू भन्ने मूल नारासहित आजदेखि सुरू भएको नवौं खिचरा महोत्सवको समुदघाटन गर्दै प्रमुख अतिथिका रूपमा आमन्त्रित मन्त्री लामाले भने, ‘मैले थारू समुदायको मौलिक तथा साँस्कृतिक लाठी नाच, झुमरा नाच रसधारी नाच हेरेँ। औंलोलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्दै स्यालुट गर्न चाहन्छु।’ मन्त्री लामाले चितवन भूमिमा थारूबाहेक अरू समुदाय औंलो उन्मुलनपछि मात्र बसाईसराई गरी आएको बताए।

थारू झाँकी मुख्य आकर्षण
महोत्सवको पहिलो दिन झाँकीसहितको शोभायात्रा मुख्य आकर्णको केन्द्रविन्दु रहेको थियो। जिल्लाभरिका सयौं झाँकी समूह, महिला समूह, विभिन्न संस्था लगायतको हजारौं सहभगिता रहेको थियो। खिचरा महोत्सव थारू समुदायले आयोजना गरेको भएतापनि शोभात्रा अवलोकन गर्दा थारू समुदाय मात्र नभई नेवार, मगर, तामाङ, दराई, दलित, ब्राह्मण, क्षेत्री सबै जातजातिले होस्टेमा हैंसे थपी साथ दिएका देखिन्थ्यो। शोभायात्रामा अधिकांश थारू महिलाहरूको सहभागिता रहेको थियो। प्रायः सबै थारू महिलाहरूले सेतो रङको मर्दानी र कालो रङको चोली तथा विभिन्न गरगहना लगाएका थिए। गरगहनाहरू मध्ये कपालमा चोंटी र सटिया, निधारमा मन्टिका र टिकुली, नाकमा नथिया र फोंफी कानमा कन्फुल, घाँटीमा हँसुली, गलामा चनरहारी, पाखुरामा टडिया, हातमा माठा, हातको औंलामा यङुठी, कम्मरमा डड्कासा र झ्वाबा, खुट्टामा गुड्हुला र पैरी, खुट्टाको औंलामा बुच्कुनी आदि गरगहनाले सुसज्जित थिए। पहिला यी सबै गरगहना चाँदीका हुन्थे। अहिले सुरक्षाका कारणले प्रायस् चाँदीको जलप लगाएका हुन्छन्। तर कोहीकोहीले सक्कली चाँदीकै लगाउँछन्।

आगामी वर्षमा महोत्सव कार्यविधि लागू हुने
खैरहनी नगरपालिका क्षेत्रभित्र लाग्ने विभिन्न मेला महोत्सव व्यवस्थापनका लागि खैरहनी नगरपालिकाले महोत्सव कार्यविधि लागू गर्ने खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले बताए। ‘महोत्सवसम्बन्धी कार्यविधि तयार भइसकेको छ र यो कार्यविधि अर्को वर्षदेखि लागू हुनेछ,’ उनले भने। थारू समुदायको हरेक गाउँमा रहेको सबै ब्रम्हस्थानीले उचित बजेट पाउनेसमेत बताए।

शुभकामना मन्तव्य
थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं-७ ले आयोजना गरेको यो महोत्सवको उदघाटन समारोहमा प्रदेश सांसद जगन्नाथ थपलिया, जिसस प्रमुख नारायण प्रसाद अधिकारी, खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेती, वडा नं- ७ का वडाध्यक्ष मनेजर महतो, वडा नं- ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ ‘हिरा’, थाकस चितवनका सभापति ललित कुमार चौधरी, थाकस केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चौधरी, केन्द्रीय सदस्य राजेन्द्र चौधरी, केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरी, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, नेपाली काँग्रेस खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठ, नेकपा एमाले खैरहनीका अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, नेकपा माओवादी खैरहनीका अध्यक्ष रामेश्वर पोखरेल, राप्रपा खैरहनीका अध्यक्ष देवराज कंडेल, रास्वपा खैरहनीका सचिव उत्तम अधिकारी, नेकपा समाजवादी खैरहनीका अध्यक्ष दुर्गा अर्याल, सप्तगण्डकी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख मणिराज महतो, चेम्बर अफ कमर्श खैरहनीका सचिव केशव लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कृष्णलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने गायक मिलन लामाले सुमधुर स्वरमा गीत गाउँदै शुभकामना व्यक्त दिए।

उदघाटन समारोह थारूकल्णाकारिणी सभा चितवन क्षेत्र नं- ७ का सभापति तथा नवौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीको सभापतित्वमा भएको थियो। महोत्सव खैरहनी नगरपालिका वडा नं- ५, जबकौली गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म सञ्चालन हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *