प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान काठमाडौं आइपुगेका उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्ध, द्वीपक्षीय हित र चासो, नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार र प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। यस अगाडि शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए।

भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *