विपद्को बेला अमेरिका भ्रमणमा निस्किएका मुख्यमन्त्री चौधरीको विरोध

आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।

प्रदेशका मुख्यमन्त्रीको भ्रमण संघीय सरकारले समेत स्वीकृत गर्छ। कुनै समय मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भ्रमण रोकेको संघीय सरकारले चौधरीलाई भने विदेश सयरमा सहयोग गरेको छ। चौधरी अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्युयोर्क’ र ‘अलबेनिक ३० औं डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन्। प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीको भ्रमण निजी भएको बताए।

‘उहाँको आफ्नै प्रयासमा भएको निजी भ्रमण हो, उहाँका साथमा अरू कोही गएको छैन, उनले भने। भ्रमण स्वीकृत गर्ने सरकारी प्रक्रिया भएकाले मन्त्रिपरिषद्बाट स्वीकृत भएको उनले बताए। कार्यबहाक मुख्यमन्त्रीले कार्य गरिरहनुभएको उनले बताए।

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ।

मुख्यमन्त्री चौधरी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। गठबन्धन दलहरूको सहयोगमा चौधरी मुख्यमन्त्री भएका हुन्। मुख्यमन्त्री भएका चौधरीले अहिलेसम्म मन्त्रिपरिषद्मा पूर्णता दिन सकेका छैनन्। प्रदेशको बजेट कार्यान्वयनसमेत निकै कमजोर रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

अहिले लुम्बिनी प्रदेशका नागरिकसमेत भूकम्पबाट प्रभावित भएका छन्। प्रदेश राजधानी भएको जिल्ला दाङसहित रुकुमपूर्व, रोल्पा र प्युठानमा भूकम्पले घर भत्किएका छन्। भूकम्पपीडित नागरिकहरूको राहतका लागि केन्द्रीय कोषमा पठाउन प्रदेशले ढेड करोड छुट्ट्याए पनि भत्किएका घर पुनर्निर्माण तथा नागरिकको राहतमा कुनै योजना बनाएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *