टीकटकमार्फत् सद्भाव बिगार्ने र विशिष्ट व्यक्तिको मानमर्दन गर्नेलाई कानुनी कारबाही गर्ने सरकारको तयारी

पछिल्लो समय सद्भाव खल्बल्याउने कार्यहरू भएको भन्दै सरकारले टीकटकका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। गत शुक्रबार टीकटकको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधहरूले छलफल गरेका हुन्।

टीकटकमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव भइरहेको भन्दै सरकारले उनीहरूसँग छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उक्त छलफलबाट टीकटकमार्फत् सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयले जनाएको छ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर व्युरोलगायत सरकारी निकाय र टीकटकबीच सहकार्य हुने प्रवक्ता भट्टराईको भनाइ छ।

मन्त्रालयले टीकटकलगायत सामाजिक सञ्जालहरूको कानुनसम्मत प्रयोग गर्न अपीलसमेत गरेको छ। ‘टीकटकलगायतका सामाजिक सञ्जाल हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंगजस्तै बनेका छन्। यिनीहरूको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरू जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउँछ। अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *