कात्तिकभित्रै सरकार ढाल्ने खेल भइरहेको छ, तर म सफल हुन दिन्नँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए।

प्रधानमन्त्री दाहालले सरकार बनेको दिनदेखि नै गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भएको बताए। ‘गएको वैशाखभित्रै सरकार ढालेरै छोडिन्छ भन्ने संकल्प गरेका मन्छे मैले देखेको छु। असार कट्न दिइन्न भन्दै षड्यन्त्र भएको नजिकबाट देखेको छु। अहिले त भनिँदैछ तिहारपछि ध्वस्तै पारिन्छ। तपाईँहरूलाई यी सबै कुरा कुनै दिन भनौंला के-के भयो भनेर,’ उनले भने।

भ्रष्टाचार र भूमाफियाविरुद्धको अभियान सुरु भएपछि झन् सरकारविरुद्ध आक्रामकरूपमा षड्यन्त्र भइरहेको उनको भनाइ छ। षड्यन्त्रकारीहरूले सरकारलाई मात्र नभएर संविधान, गणतन्त्र र लोकतन्त्रलाई ध्वस्त पार्ने चुनौती दिइरहेको उनले बताए।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि पार्टी पंक्तिलाई प्रतिवाद गर्न उनले आह्वानसमेत गरे। ‘तपाईँहरूले यी कुरालाई बुद्धिमता तरिकाले कसरी प्रतिवाद गर्ने? वैज्ञानिक तरिकाले कसरी असफल पार्ने भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले भने।

उनले आफू प्रधानमन्त्री भएपछि १० महिनाभित्र ८-९ प्रधानमन्त्रीहरू बनाउने कसरतलाई असफल बनाएको बताए। अहिले भइरहेको षड्यन्त्रलाई पनि विफल पारिने उनको भनाइ छ। ‘दस महिनाभित्र ८-९ वटा प्रधानमन्त्री बनाउने कसरहरू भए। ती सबैलाई असफल पारियो। हामीले राजनीतिक बल-बुत्ताले ती प्रयासहरू असफल पारियो। अब जे हुँदैछ, त्यो पनि असफल पारिन्छ। सफल हुने मैले कुनै गुन्जायस देख्दिनँ,’ उनले भने।

यसबीचमा विभिन्न दलका विभिन्न नेतालाई प्रधानमन्त्री बनाउने कसरत गरिएको उनले बताए। ‘यो देशमा धेरै प्रधानमन्त्री भए। म तेस्रोपटक प्रधानमन्त्री भएको यो कति महिना भयो? तर कहिले यो पार्टीको, कहिले त्यो पार्टीका विभिन्न नेतालाई प्रधानमन्त्री बनाउने कसरत भयो,’ उनले भने।

उनले जनतासँग पार्टी प्रत्यक्ष नजोडिएकै कारण माओवादीमाथि प्रहार भइरहेको बताए। जनयुद्धको उदाहरण दिँदै उनले भने, ‘जनतासँग हाम्रो पार्टी जोडिएन भने, जनता मोबिलाइज भएन भने, लिडरसिपले मात्रै गरेर केही हुँदैन। क्रान्ति पनि हामी सबैको तागत लगाएरै सफल भएको हो। त्यसैले प्रतिगमन भयो भने के होला भनेर हामी सबैले विचार गर्नुपर्छ,’ उनले भने।

उनले माओवादी पार्टीभित्र जनतासँग कसरी जोडिने भन्ने कडी छुटेको बताए। प्रशिक्षणको माध्यमबाट त्यो कडी जोड्नुपर्ने उनले बताए। ‘जनतालाई प्रशिक्षित गर्ने अधिकार सबै पार्टीलाई छ। हामीलाई पनि छ। विगतमा कुनै कडी छुटेको थियो भने यही हो,’ उनले भने।

उनले ३२ सिटे भनेर हेप्नेहरूलाई संसदमा शतप्रतिशत समर्थन जुटाएको कुराले जवाफ दिनुपर्ने बताए। ‘३२ सिटे भनेर हेपेको हामीलाई थाहै छ। त्यो त हो पनि। हामीले ३२ भन्दा बढी ६४ बनाउन त सकेनौं। तर संसदमा शतप्रतिशत समर्थन त जुटाएका हौं नि। त्यो कुरा तपाईँहरुले जनतालाई भन्नुपर्‍यो,’ उनले भने।

प्रधानमन्त्री दाहालले विशेष अभियानअन्तर्गत गर्न लागिएको जनपरिचालनबारे गलत प्रचार भएकोमा गुनासोसमेत गरे। ‘केन्द्रीय समितिले गरेको निर्णय बमोजिम विशेष अभियानकै क्रममा जनपरिचालन गर्ने निर्णय गरेको हो। तर जनपरिचालनबारे गलत प्रचार भएको छ,’ उनले भने।

उनले हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै अहिले शान्तिको कुरा गर्दै हिँडेको भन्दै त्यस्ता षड्यन्त्रलाई लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गर्न आवश्यक रहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *