ओलीप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने- हाम्रै साथीले शान्ति प्रक्रियाबारे महासचिवलाई गलत ब्रिफिङ गरे

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्र संघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै शान्ति प्रक्रिया टुंग्याउनेबारे गलत ब्रिफिङ गरेको आशय व्यक्त गरेका हुन्।

उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रियाबारे राम्रा धारणा व्यक्त गर्दैगर्दा ओलीले विभाजित रहेको सन्देश दिएको आरोप लगाए। ‘संयुक्त राष्ट्रसंघका महासचिवको यस्तो राम्रो धारणा छ। तर दुर्भाग्य हाम्रै केही साथीहरूले यस्तो बेला विभाजित देखाए। त्यो भने दुर्भाग्यपूर्ण छ,’ संसद भवनमा प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने।

उनले महासचिव गुटेरेसले नेपालको हितमा धारणा राखेको बताए। महासचिव गुटेरेसले दीगो विकासको लक्ष्य हासिल गर्न चाहिने अनुदान रकम नेपाललाई प्रदान गर्नुपर्ने वक्तव्य प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ।

‘नेपालको समग्र हितमा संयुक्त राष्ट्रसंघका महासचिवले बोल्नसक्ने म्याक्सिमम सीमामा उहाँले बोल्नुभयो। यो नेपाल र नेपालीका निम्ति एकदमै खुसी र गर्वको कुरा हो। नेपाल संसारका सबै मुलुकका मित्र छन्। सबैले मित्रको रूपमा माया गर्नुपर्छ। पर्यावरण र गरिबी निवारणसम्बन्धी सबै फन्डहरूनेपाललाई दिनुपर्ने भनिएको छ। दुनियाँले ध्यान दिनुपर्छ। योभन्दा ठूलो कुरा केही हुन सक्दैन,’ उनले भने। उनले शान्ति प्रक्रियामा विश्व समुदायको सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए।

गत आइतबार महासचिव गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालकै कारणले शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ब्रिफिङ गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *