राष्ट्रिय टिमलाई भारतीय दूतावासद्वारा क्रिकेट सामग्री हस्तान्तरण

काठमाडौंस्थित भारतीय राजदूतावास बिहीबार क्रिकेट सामग्री हस्तान्तरण गरेको छ। कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि दूतावासमा स्वागत समारोहका अवसरमा सामग्री हस्तान्तरण गरेको हो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्ट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरे।

ती सामग्री बीपी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो। नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको छ।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरेका छन्। उनले क्रिकेट सामग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए। उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन्।

नेपाल क्रिकेट संघका अध्यक्ष चन्द , संघका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बीपी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरेका छन्।

दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराएको थियो भने फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकत्तामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *