संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था

संघीय निजामती सेवा विधेयकमा थारू महिलाको लागि छुट्टै आरक्षणको व्यवस्था गरिएको छ। पहिलोपटक थारू कलस्टर छुट्याइएको विधेयकमा थारू महिलाका लागि समेत छुट्टै कलस्टरको व्यवस्था गरिएको हो। विधेयकको धारा ११ को उपधारा २ मा कूल आरक्षति ४९ प्रतिशतको ५० प्रतिशत महिलाको लागि आरक्षण छुट्याइएको छ।

जसमा खस आर्य महिलाका लागि २७.७ प्रतिशत, आदिवासी जनजाति महिलाका लागि २५.७ प्रतिशत, मधेसी महिलाका लागि १५.३ प्रतिशत, दलित महिलाका लागि १२.७ प्रतिशत, थारु महिलाका लागि ६.६ प्रतिशत र मुस्लिम, पिछडिएको क्षेत्र, अपाङ्गता भएका महिलाका लागि चार-चार प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।

त्यस्तै ४९ प्रतिशतको बाँकी प्रतिशतमध्ये थारूका लागि ९ प्रतिशत आरक्षण छुट्याइएको छ। जसमा आदिवासी जनजातिका लागि ३२.५ प्रतिशत, मधेसीका लागि १९ प्रतिशत, दलितका लागि १५.५ प्रतिशत, विपन्न खस आर्यका लागि १० प्रतिशत, थारुका लागि ९ प्रतिशत र मुस्लिम, पिछडिएको क्षेत्र, अपाङ्गता भएकाका लागि पाँच-पाँच प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेव विधेयकलाई संसदमा पेस गर्ने निर्णय गरेको थियो। यद्यपि अहिलेसम्म उक्त विधेयक संसदमा दर्ता भएको छैन। विधेयक संसदमा पेस भइसकेपछि विभिन्न चरणमा छलफल गरिने व्यवस्था छ। संसदबाट पास भइसकेपछिमात्रै यी व्यवस्थाहरू लागू हुनेछ।

विधेयकमा पहिलोपटक थारू कलस्टर समावेश गरिएको छ। यसअघि थारू कलस्टरलाई लिएर विवाद आए पनि सर्वोच्च अदालतले थारु कलस्टर समावेश गर्न परमादेश दिएपछि विधेयकमा छुट्टै थारू कलस्टर समावेश गरिएको हो। थारूरुले जनसंख्याको अनुपातमा कम्तिमा ६.६ प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *