सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश बने मन्त्री, असन्तुष्ट लक्ष्मणले पार्टीको जिम्मेवारी त्याग्ने

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरी राज्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बुधबार नियुक्ति गरेका हुन्। दुवै जनाले आजै सपथसमेत लिएका छन्। मन्त्री बन्नका लागि रामेश्वर चौधरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। उनीहरूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यता मन्त्री बन्नकै लागि प्रमुख सचेतकबाट राजीनामा दिएका लक्ष्मण किशोर जोगेठ्वा मन्त्री नियुक्तिप्रति रुस्ट छन्। उनले फेसबुकमै पार्टीका नेता रेशम चौधरीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्- “यार गद्दार निकला! राजनितिक पाखण्डवाजको घनघोर भर्त्सना गरौं।”

उनी पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुखसमेत हुन्। उनले रेशम चौधरी आफूप्रति अन्याय गरेको बताए। उनले नागरिक उन्मुक्ति पार्टी नीति, विधि तथा पद्धतिअनुसार चल्न नसकेको बताए। नीतिगतरूपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भएको उनको आरोप छ।

उनले पार्टीले दिएको जिम्मेवारी त्याग्ने समेत बताए। ‘केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख हुँदाहुँदै पार्टीले अन्याय गर्‍यो। चाँडै पत्रकार सम्मेलन गरेर अब त्यो जिम्मेवारीबाट म मुक्त हुन्छु,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *