नयाँ दिल्लीमा भाजपाका अध्यक्षसहित शीर्ष नेतासँग छलफल गर्दै माओवादी नेताहरू, उत्तराखण्ड पुगेर मुख्यमन्त्री धामीसँग पनि भेट्ने

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्।

उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यद्वय रामेश्वर राय यादव र सुरेशकुमार राई छन्।

भाजपालाई जान्नुस् (Know BJP)’ अभियानअन्तर्गत राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाएका हुन्। भारतमा रहँदा माओवादी नेताहरूले भारतीय जनता पार्टीका अध्यक्ष नड्डा र अन्य वरिष्ठ नेताहरूसँग छलफल गर्ने विदेश विभाग प्रमुख चौथाइवालाले जानकारी दिएका छन्।

‘यस भ्रमणको उद्देश्य पार्टी-पार्टीबीच अन्तरक्रिया बढाउन र प्रतिनिधिमण्डललाई भाजपाको दृष्टिकोण र कार्यप्रणाली बुझ्न सक्षम बनाउनु हो,’ चौथाइवालाले भनेका छन्।

६ दिने भ्रमणका क्रममा माओवादी नेताहरू दुई दिन उत्तराखण्डको समेत भ्रमण गर्नेछन्। त्यहाँ मुख्यमन्त्री पुष्करसिंह धामीसँग छलफल हुने चौथाइवालाले जानकारी दिएका छन्। माओवादी टोलीले उत्तराखण्डमा पनि भाजपाका नेता तथा राज्य पदाधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।

भारतीय जनता पार्टीको ४३औं स्थापना दिवसमाको अवसरमा अध्यक्ष नड्डाले छिमेकी देशका सत्तारुढ दलहरूलाई बोलाएर यो अभियान सञ्चालन गरेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *