सांसदको संख्या हेरेर कांग्रेसलाई हेप्ने, पेल्ने? संसदीय काम कारबाहीमा अब हाम्रो साथ रहँदैन : गगन थापा

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसद गगन कुमार थापाले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कामकारवाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरू भएको बजेट अधिवेशनमा बोल्दै कांग्रेस सांसद थापाले छानबिन समिति नबनाए सरकारको काम कारबाहीप्रति विश्वास नरहने बताए।

‘सदनमा देखिएको दृष्यको कारण हामी होइन। कारक पनि होइन। आग्रह गर्न चाहन्छु जे गर्ने सोच राखेको छ। यसको मूल्य सबैले चु्काउनुपर्छ। यसलाई हल्का नठानियोस्। नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा एकमत छ। विधेयकहरू पारित होस्। लगानी सम्मेलनअघि सरकारलाई सजिलो होस्। निजामति ऐनलगायत सबै सदनमा जाओस् भन्ने नै थियो। सहकारीको ठगीमा छानबिन समिति बनाओस। यो संसदले छानबिन समिति बनाउँदा एमाले, माओवादी, कांग्रेस, बस्ने होला। तथ्य हामीले बनाउने होइन होला। छानबिन समिति बनाइदिओस भन्ने लाग्छ,’उनले भने,’ किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ। कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ। यदि गल्ती गरेको छैन भने किन डराएको ?, संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कामकारवाही अगाडि बढ्दैन। सरकारको कामकारवाहीप्रति विश्वास रहँदैन।’

कांग्रेस महामन्त्री समेत रहेका थापाले सरकारकै कारणले सदनमा अवरोध सृजना भएको जिकिर गरे। उनले भने,’सरकार आफै वातावरण बिर्गान आएको,सरकारकै कारण सदनमा अप्ठ्यारो सृजना भएको। अब संसदको कुनै पनि कामकारवाही अगाडि बढ्ने कुरामा नेपाली कांग्रेसको साथ रहदैन। जबसम्म संसदीय छानबिन समिति बन्दैन।’

संसभित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ छ। थापाले बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका बिषयलाई अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले नारावाजी गर्दै रोष्टम घेराउन गर्न पुगेका थिए । सभामुखले सहज रुपमा सदन अघि बढाउन आग्रह गर्दा पनि नाराबाजी जारी रहेपछि बैठक स्थगीत गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *