आशिष चौधरीको गोलमा नेपाल पाकिस्तानलाई हरायो

आशिष चौधरीको निर्णायक गोलप्रेरित नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० को नतिजामा पराजित गरेको छ।

भारतको बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पाकिस्तानमाथि आक्रामक बनेको नेपालका लागि आशिषले १० मिनेट बाँकी रहँदा गरेको एक मात्र गोल निर्णायक बन्यो।

घरेलु लिगमा चर्च ब्वाइज युनाइटेडबाट खेल्दै आएका आशिषको राष्ट्रिय टिममा पहिलो गोल हो। सुरुआती दुई खेलमा पराजित नेपालको यो सान्तवना जित मात्रै भयो। पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टिम भारतसँग २–० को नतिजामा पराजित नेपाल एक खेल अगावै बाहिरिसकेको थियो।

नेपाल यसअघि २०१५ मा भारतकै केरलामा भएको संस्करणमा पनि नेपाल समूह चरणबाटै बाहिरिएको थियो। समूह एमा श्रीलंका र भारतसँग पराजित नेपाल जितविहीन रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *