नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

मनीष डाँगीको निर्णायक गोलप्रेरित नेपालले फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। सुरुआतमै १-० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १७औं मिनेटमा लाओसका विङ्गर साङ्भिलेले गोल गर्दै भ्रमणकारी टिमलाई अग्रता दिलाएका थिए।

पछिल्लो खेलमा भुटानविरुद्ध दुई गोल गरेका बोनपाचाङ बोङ्कोङले दिएको पेनाल्टी एरिया अगाडिबाट दिएको पास नेपाली मिडफिल्डर मणिकुमार लामालाई लागेर ६ यार्ड बक्स अगाडि पुगेको थियो। बायाँतर्फबाट उत्कृष्ट रन बनाएका साङ्भिलले उत्कृष्ट फिनिसिङ गरे।

तर, त्यसको सात मिनेट नबित्दै आयुष घलानले नेपालका लागि बराबरी गोल फर्काए। एरिक विष्टले १८ यार्ड बक्स अगाडिबाट दिएको पास पेनाल्टी बक्समा नियन्त्रणमा लिएर उत्कृष्ट फिनिसिङ गरे।

निर्धारित ९० मिनेटको खेलसकिन तीन मिनेट बाँकी रहँदा मनीष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। अञ्जनले पेनाल्टी एरियाबाट दिएको पासलाई पेनाल्टी एरियाको कुनामा नियन्त्रणमा लिएका मनीषले गरेको सशक्त प्रहार सोझै गोलमा परिणत भएको थियो।

त्यसअघि, चौथो मिनेटमा लाओसका बोन्चापान बोङ्कोङले नेपाली गोलकिपर किरण अगाडि बढेका बेला गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो।

यस्तै, नेपालका लागि २२औं मिनेटमा मणिकुमार लामाले बायाँतर्फबाट प्रहार गरेको फ्रि-किकमा डिफेन्डर सनिश श्रेष्ठले हानेको हाफ भलीमा लाओसका गोलकिपर बाधक बनेका थिए। सनिशले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहार लाओसका गोलकिपर सेसाभाथले रोकेका थिए।

त्यसअघि मनीष डाँगीले १४औं मिनेटमा लाओसका कप्तान सोकाफोने भोङ्चेङ्घामलाई फाउल गरेपछि १८ यार्ड बक्स अगाडि फाउल गरेका थिए। सोही फ्रि-किकमार्फत बोङ्कोङले गरेको प्रहार रोहित चन्दले हेडरमार्फत क्लियर गरेका थिए।

मनीषले ५६औं मिनेटमा दायाँ फ्लान्कबाट उत्कृष्ट रन बनाएर गरेको क्रसमा ६ यार्ड बक्स भित्र रहेका आयुष र दीपकराजसिंह ठकुरीले भेट्टाउन सकेनन्।

नवीन लामाले ५८औं मिनेटमा प्रहार गरेको कर्नरमा अनन्त तामाङले हेडरमार्फत गरेको प्रहार लाओसका माइकल भाङलाई लागेर गोलकिपरको हातमा पुगेको थियो।

नवीनको ६१औं मिनेटमा क्रसमा आयुषले ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रबारमाथिबाट बाहिरिँदा नेपालले अग्रता लिने मौका गुमाएको थियो।

मनीष डाँगीलाई ६७औं मिनेटमा लाओसका नालोङ्सिथले १८ यार्ड बक्स अगाडि लडाएपछि नेपालले राम्रो स्थानमा फ्रि-किक पाएको थियो। सोही फ्रि-किकमार्फत् निशान खड्काले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।

नवीनले ७४औं मिनेटमा दिएको पासमा पेनाल्टी एरियाको रेखाबाट अञ्जन विष्टले गरेको प्रहार लाओसका गोलकिपरले रोकेका थिए। सोही रिबाउन्ड बलमा मनीषले गोल गरे पनि अफसाइडका कारण गोल रद्द भएको थियो। भुटानविरुद्धको खेलमा घाइते भएका अञ्जन विष्ट पहिलो रोजाइमा परेका थिएनन्। उनलाई मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए।

यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएर निलम्बनमा परेका पुजन उपरकोटीको स्थान मणिकुमार लामाले लिएका थिए। यस्तै, नवयुग श्रेष्ठको स्थानमा मनीष डाँगीले मौका पाएका थिए।

पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। लाओस पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा भुटानलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

उपाधिसँगै विजेता नेपालले पाँच तथा उपविजेता लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरेका छन्। यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाउने छन्।

तस्बिर : सुनिता डंगोल




Leave a Reply

Your email address will not be published. Required fields are marked *