रेडियो नाटक रोपेगुना फल टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी, विजेताले ५० हजार पाउने

रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक मोडल मिस पवी बनेकी छन्। एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच सो कार्यका लागि सोमबार सहमति भएको छ। स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन्। सार्वजनिक योजनाअनुसार अडियो/रेडियो नाटक रोपेगुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट ३ जनाले आकर्षक नगद पुरस्कार पाउनेछन्।

विशेषगरी जन्मेदेखि ८ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाउनेछन्।

उक्त टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन र निर्णायक समूहमा रही सहयोग गर्नेछिन्। मिस पवी सुदुरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमुलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छन्।

रोपेगुना फल अडियो/रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले सो क्षेत्रको लोकप्रिय लवजमा टिकटकमार्फत् धेरैभन्दा धेरै लक्षित श्रोता दर्शकसम्म पुग्नका लागि उपयोगी हुने भएकाले टिकटक प्रतियोगिता आयोजना गरिएको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन्।

एन्टेना फाउण्डेशनका अनुसार यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अंकबाट कुनै पनि सम्वाद छनौट गर्न सक्नेछन्। टिकटक भिडियो न्युनतम १ मिनेटको र अधिकतम ३ मिनेटको हुनु पर्नेछ।

भिडियो कसैको पनि जातीय, लैंगिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ। भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ।

प्रतियोगितामा भाग लिने  एक जनाले एउटा वा बढी टिकटक बनाउन सक्नेछन् वा समूहमा मिलेर समेत सहभागी हुन सक्नेछन्। टिकटक भ्युज, लाइक्स, कमेन्ट र सेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखि प्रतियोगी छनौट गरिनेछ। पुरस्कृत प्रतियोगीहरूले एन्टेना एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने अडियो, रेडियो तथा भिडियो नाटकमा कलाकार भएरसमेत काम गर्ने अवसर पाउन सक्नेछन्।

रेडियो नाटक रोपेगुना फल एन्टेना फाउण्डेसन नेपालको वेवसाइट www.afn.org.np, फेसबुक पेज @AntennaFN वा युट्युव च्यानल AntennaFoundationNepal मा उपलब्ध छ। प्रतियोगी टिकटकका लागि तीनै नाटक सुनेर संवाद रोज्न सकिन्छ। प्रतियोगीहरूले प्रतियोगिताका लागि बनाइएका टिकटक भिडियोहरू आफ्नै टिकटक एकाउन्टबाट सेयर गर्नु पर्नेछ। त्यसरी भिडियो शेयर गर्दा #ropegunafal ह्यासट्याग र @antennafoundationnepal_लाई मेन्सन गर्नु पर्नेछ।

टिकटक प्रतियोगिता माघ १५, २०७९ सम्म कायम गरिएको छ। रोपेगुना फल युनिसेफ नेपालको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने लोकप्रिय धारावाहिक अडियो/रेडियो नाटक हो। यो अभियानमा पपुलेशन मिडिया सेन्टर र भायामो नामक संस्थाहरूसमेत संलग्न छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *