मंसिर ४ गते निर्वाचनको मिति तोकियो, यस्तो छ निर्वाचन आयोगको तयारी

नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो।

यसैबीच मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन्।

बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले सरकारलाई दिएको लिखित परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २१ मंसिरमा सकिने उल्लेख गरेको बताए।

‘आयोगले आफ्नो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं’ उनले भने, ‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ।’

उनले दशैंको लगत्तै उम्मेदवारी दर्ताको कार्यतालिका बनाउने र उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि त्यतिबेलै सकिने व्यवस्था गर्ने पनि बताए ।

‘अनुमान गर्दा दशैंको लगत्तै पछि उम्मेदवारी दिने कार्यतालिका बनाउनुपर्ने जस्तो देखिछ । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुर्छ भन्ने आयोगको धारणा छ’ उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *