थारु कलस्टरको माग र टीकापुर राजबन्दीको रिहाइ माग गर्दै थाकस पदाधिकारी प्रधानमन्त्री निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका राजबन्दी रिहाइ र थारु कलस्टरअन्तर्गत ६.६ प्रतिशत कोटा छुट्याउन सम्बन्धित निकायसँग विस्तृत छलफल गर्ने बताएका छन्।

थारु कल्याणकारिणी सभाका पदाधिकारीहरुसँग बिहीबार बालुवाटार भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले थारुका माग मुद्दाहरु फरक फरक निकायसँग सम्बन्धित रहेको भन्दै उनीहरुसँग आवश्यक प्रक्रिया थालनका लागि छलफल गर्ने बताए।

‘थारुहरुसँग सरकारले विभिन्न बुँदे मागहरुबारे सम्झौता गरेको अवस्था छ। टीकापुर घटनाका राजबन्दी रिहाइ र निजामती विधेयकअन्तर्गत थारु कलस्टरका कुराहरु छन्। थारुका यी मागबारे सम्बन्धित व्यक्ति र निकायसँग छलफल गर्नेछु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने।

उनले आफूहरुले टीकापुर राजबन्दीको रिहाइ, झुठा मुद्दा लागेकहरुको मुद्दा फिर्ता लिने सम्बन्धमा र निजामति विधेयकमा जनसंख्याकै अनुपातमा थारुहरुलाई कलस्टर छुट्याउनुपर्ने मागसहित डेलिगेशन गएको बताए।

डेलिगेशनमा महामन्त्री प्रेमीलाल चौधरी, थारु बुद्धिजीवी कुछतनारायण चौधरी, थाकस उपत्यका समितिका सुमन चौधरी र पूर्वमन्त्री गोपाल दहित समेत सहभागी थिए।

थारु कलस्टरको मागसहित थाकसले सर्वोच्च अदालतमा लोकसेवा आयोगलगायत विभिन्न सरकारी निकायविरुद्ध उजुरी दर्ता गर‍ेको छ।

संविधानले नै दिएको अधिकार सुनिश्चित गर्न मागसहित थाकस पदाधिकारीहरुले यतिबेला मन्त्री र शीर्ष नेताहरुसँग लबिङ थालेका छन्। उनीहरुले केही दिनअघि सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र कानुनमन्त्री गोविन्द बन्दीलाई समेत भेटेर थारुको माग पूरा गर्न आग्रह गरेका थिए।




One thought on “थारु कलस्टरको माग र टीकापुर राजबन्दीको रिहाइ माग गर्दै थाकस पदाधिकारी प्रधानमन्त्री निवासमा

  1. साथीहरु यो कार्यमा था क स र कुछत सर काे अतुलनीय मेहनत छ, अर्थको पनि खाँचो छ सबैले सक्दो सहयोग गर्नु पर्यो कसरी गर्ने बारे मो न ९८५८०२७७३६ मा सम्पर्क गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *