थारु समुदाय र बड्का आत्वारी पर्वको सामाजिक तथा साँस्कृतिक महत्व

कमल चौधरी

नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा संस्कृतिक परम्पराहरु रहिआएको छ ।

थारु को हुन् ? उनीहरुको उत्पत्ति कसरी भएको हो ? भन्ने बारेमा अझै विद्वान्हरुमा एक मत हुन सकेको छैन । यस सम्बन्धमा कसैको विचारमा सिन्ध प्रदेशको ‘थर’ भन्ने ठाउँबाट आएका हुँदा थारु भए, भनेका छन्, भने कसैले यिनीहरुलाई मंगोल वर्गका मानेको छन् ।

पेशल दहालले ‘नेपालको इतिहास र संस्कृति’ पुस्तकमा पहाडी प्रदेशमा बसोबास गर्ने मंगोल वर्गका मानिसहरु नै आर्य भाषा ग्रहण गरी तराईतिर बसाई सरेका हुन् भन्ने धारणा व्यक्त गरेको पाईन्छ । फेरि अर्को थरी विचारमा ‘थरी’ (ग्राम प्रमुख) बाटै थारु भएको भन्ने पनि पाईन्छ । कसैको विचारमा त पहाडका मगर जाति नै तराईमा झरेर थारु भएका हुन् भन्ने छ भने कसैले मिश्रित जातिको रुपमा थारु लाई लिएका छन् ।

यसरी थारुहरुको उत्पत्ति सम्बन्धमा अनेक विचारहरु व्यक्त भएका छन् । स्पष्ट भन्न सकिने आधार भने केही छैन । जे भए पनि यो जाति प्राचीन समयदेखि नै तराईका मलिला फाँटहरु आवाद गरेर आइरहेका छन् ।

यिनीहरुको मुख्य धर्म प्रकृतिधर्म भएपनि यिनीहरुले हिन्दु धर्ममा आस्था राख्ने र देवी देवताहरुको पूजागर्ने प्रचालन रहेको पाईन्छ । थारु समुदायहरुले मुख्यतया दशै, तिहार, माघी, जितिया, बड्का अत्वरी पर्व विशेष रुपले मनाउने गर्दछन् ।

पछिल्लो समय थारु समुदायले प्राचिन कालदेखि मनाउँदै आएको वड्का अत्वारी पर्वको निश्चित तिथि, मिति विच एकरुपता हुन नसक्दा बौद्धिक वर्गहरुको बहसको विषय बन्दै गएको छ ।

के हो बड्का अत्वारी ?
थारु समुदायको यस वड्का अत्वारी पर्वको निकै महत्व रहेको छ । यस पर्व आईतवार मनाईने हुँदा अत्वारी राखिएको हो । आईतवार लाई  रविवार पनि भनिन्छ । रविवार अर्थात सूर्यको बार, सूर्य वारका दिन अर्थात आईतवार मात्र मनाईने पर्व वड्का अत्वारी थारु समुदायको विशेष पर्व हो । प्रकृतिक पुजारी थारु समुदायले विशेषगरी आराध्यदेव सूर्यको उपासना, पुजा आजा गरी वड्का अत्वारी पर्व धुमधाम रुपले मनाउने प्रचलन रहिआएको छ । ठाउँ विशेष अनुसार यस पर्वलाई पश्चिम तर्फ वड्का अत्वारी, वड्का आईतबार, अट्टवारी र पुर्व तर्फ रैव भनि फरक फरक नामले यस पर्वलाई धुमधाम संग मान्दै आएको देखिन्छ । अर्थात भाषागत रुपमा शब्द केही फरक भए पनि अत्वारी भनेको पनि आईतवार र रैब भनेको पनि आईतवार नै हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

तिथि मितिमा विवाद
धेरै बर्ष देखि थारु समुदायले मनाउँदै आएको बड्का अत्वारी मनाउँदै आएको तिथि मितिमा अन्योलता हुने गर्दछ । यस बर्ष पनि ठाउँ अनुसार फरक फरक तिथिमा यस पर्वलाई मनाउँने भएका छन् । लुम्बिनी प्रदेशका दाङ्ग, बाँके, बार्दिया जिल्लामा प्रदेश सरकारले भोली भद्र २७ गते लाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । भने लुम्बिनी प्रदेशकै थारु बहुल्यता भएका कपिलबस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई भने सर्वजानिक विदा दिने निर्णय गरेको छैन । यतः थारु कल्याणकारिणी जिल्ला कार्य समिति रुपन्देहीका जिल्ला अध्यक्ष शत्तिस कुमार चौधरीले आफुहरुले असोज ३ गते लाई बड्का अत्वारी पर्व मनाउँने बताउँनुहुन्छ । एद्यापी कपिलबस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले एक विज्ञप्ती जारी गर्दै बाणगंगा नगरपालिकालाई भद्र २७ गते सार्वजानिक विदा दिने निर्णय समेत गरिसकेको छ ।

के हो प्रमुख आधार
थारु समुदायको वड्का अत्वारी पर्व ठाउँ अनुसार चालचलनमा विविधता छ । यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु छन् । पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारु समुदायका बौद्धिक वर्गहरुको बहसको विषय बन्दै आएको छ । अत्वारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अत्वारी’को रुपमा मानिन्छ । भने ‘पाँच अत्वारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अत्वारी मान्न सकिन्छ ।

‘वड्का अत्वारी’ लाई यस बर्ष दाङ्ग, बाँके, बार्दिय, कैलाली, कंञ्चनपुर लगायतका जिल्लाहरुमा भदौं २७ गते धुमधाम रुपले मनाउँदै छन् । भने कपिलबस्तु, रुपन्देही र नवलपरासी लगायतका जिल्लामा असोज ३ गते यस पर्वलाई मनाउने थारु अगुवाहरु बताउँछन् । जसले गर्दा थारु समुदाय भित्र  यो पर्व कहिले मनाउने हो भन्ने बारे अझै अन्योल देखिन्छ । यसरी  साधारण रुपमा कपिलबस्तु, रुपन्देही  र नवलपरासीमा तीज पछिको पहिलो आईतबारको दिनलाई यो वड्का अत्वारी पर्वको रुपमा  मनाउने चलन छ । एद्यापी यो बड्का अत्वरीमा प्रथा, परम्परा र प्रचलन अनुसार आईतवारको पर्वको तिथी पनि निर्धारण गरिएको धार्मिक विश्वास रही आएको पाईन्छ । जस्तै भाद्र शुक्ल पक्ष प्रतिपदा देखी छैठौ दिन वा छैठौ दिन भित्र पर्ने आईतबार अछुत हुन्छ भन्ने मान्यता प्रचलनमा रहीआएको छ । भाद्र शुक्ल पक्ष प्रतिपदाको छैठौ दिन भित्र पर्ने आईतवारलाई छठिया गईल अर्थात अछुत आईतवार भनि त्यस पछिको पहिलो आईतवारलाई बड्का आईतवारका रुपमा मनाउने प्रथा प्रचलन रही आएको अगुवाहरु बताउँछन् ।

सामाजिक तथा साँस्कृतिक महत्व
सोझा, इमान्दार, सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका यि समुदायले अहिले अत्वारी पर्व मनाउनमा व्यस्त देखिन्छन् । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने थारु समुदायको ‘बर्का अत्वारी’ पर्वको आफ्नो छुट्टै अस्तीत्व र महत्व बोकेको छ । विशेषगरी ‘बर्का अत्वारी’ पर्वपछि थारु समुदायमा वर्षभरि मनाइने लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवम् सांस्कृतिक कार्यक्रमहरू आरम्भ भएको मानिन्छ । वर्षा ऋतुमा खेती सम्बन्धी काममा निकै व्यस्त रहने यो समुदायका व्यक्तिहरू यो पर्वपछि भने फुर्सदको समयमा टोल बस्तीमा सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने गरिन्छ । यो पर्वमा थारु समुदायमा एक साता अगाडी देखिनै चेलिबेटीहरुलाई घरमा बोलाउने चालन छ ।  छोरी चेली, भन्जा, भन्जीहरु माईता र मामाको घर गाएर रमाईलो गरी वड्का अत्वारी पर्वलाई मनाउने गरीन्छ । विशेष गरी यो पर्व आईतबारको दिन मनाउने हुदाँ यस पर्वको नाम अत्वारी राखेको थारु अगुवाहरु बताउँछन् । यो पर्वमा दिनभरी श्रद्धालु महिला पुरुषले व्रत बसी पिठोका विभिन्न परिकार बनाएर खाने प्रचलन छ । र थारु समुदायमा एउटा छुट्टै विशेषता के छ भने आफूले बनाएको परिकारहरु छिमेकीको घरमा थोरै धेरै दिने चलन छ । त्यस्तै छिमेकीहरुले पनि आफूले बनाएको परिकारहरु सबैको घरघरका पु¥याउने चलन छ । यसरी थारु समुदायमा सहयोग र साटासाटको भावना पहिलेदेखि नै चलिआएको पाईन्छ ।

अन्त्यमा,
नेपालमा वड्का अत्वारीलाई ठाउँ विशेष र स्थानिय प्रथा, प्रचलन र परम्परा अनुसार फरक फरक तिथिमा मनाउन थालेको देखिन्छ । हुन त यस थारु समुदायको महान पर्वलाई एउटै तिथि मितिमा मनाउँनुपर्ने हो । तर धेरै बर्ष देखि यसलाई कहिले र कुन तिथि मितिमा मनाउँने हो एउटा बहसको विषय बन्न पुगेको छ । पूर्व देखि पश्मिका थारु समुदायका अगुवा बुद्धिजिवी, विभिन्न संघ संस्था, थारु कल्याणकारी सभा यस विषयलाई गम्भिर भएर लिनु पर्छ । मनकी भाषा बनाउने प्रयत्न गर्ने थारु अगुवाहरु किन चुकिरहेका छन् । किन प्रयश भएको छैन । पटक पटक एउटै पर्वलाई दुई पटक मनाउँदा  कहाँ सम्मको उचित हो । यस विषयमा सवै गम्भिर हुन जरुरी छ । राज्यले पनि समाजिक तथा ऐतिहासिक महत्व बोकेको विभिन्न जातजाति, धर्म, संस्कृतिको भेष, भुषा, रितिरिवाजहरु लाई संरक्षण र प्रवर्दन गर्नु आवश्यक छ । तकी लोप हुन लागेको थारु समुदायको ‘बर्का अत्वारी’ पर्वलाई संरक्षणको लागि राज्यले विभिन्न कार्यक्रम गरी यसको संरक्षणमा टेवा पु¥याउन जरुरी देखिन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *