नेकपा अध्यक्ष प्रचण्डद्वारा ‘मुक्तिक डगर’ विमोचन

इतिहास बोकेको मुक्तिक डगर पत्रिकाको आज विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रिकाको विमोचन गरे। इन्दु थारुको सम्पादकत्वमा पुनरागमन गरेको मुक्तिक डगर त्रैमासिकरुपमा प्रकाशन हुनेछ। विसं २०४९ सालमा इन्दुका बुबा जोखन रत्गैँयाले मुक्ति डगर आफ्नै सम्पादकत्वमा प्रकाशन सुरु गरेका थिए। उनले ७ अंकमात्र प्रकाशन गरेका थिए।

पत्रिका विमोचनपछि अध्यक्ष दाहालले जनयुद्धमा सबैभन्दा धेरै बलिदानी थारु समुदायले दिएको बताए। ‘हामीले जनयुद्धको तयारी बर्दिया कैलालीको थारु समुदायहरुबीचबाटै गरेका थियौं। जनयुद्धमा पनि सबैभन्दा बढी मानवीय क्षति र बेपत्ता थारु समुदायले नै ब्यवहोरेको छ,’ उनले भने।

उनले सबैभन्दा अपमानित र विभेद गरिएको समुदाय रहेको र उनीहरु एकदमै सोझो, इमान्दार पनि भएको बताए। थारुहरु सभ्यताको प्रतीकमात्र नभएर विद्रोह र न्यायको लागि अगाडि बढ्ने समुदाय पनि भएको बताए। जोखन रत्गैँयाहरुले देखेको सपना एकिदन अवश्य पूरा हुने बताउँदै पत्रिका पुनप्रकाशन गरेकोमा इन्दु थारुलाई धन्यवादसमेत दिए।

त्यस्तै उनले सहीदको रगत र बेपत्ता तथा घाइतेको त्यागले ठूलो राजनीतिक परिवर्तन ल्याएपनि सबै सपना पूरा नभएको बताए। ‘हामी यो अवस्थामा आइपुगेका छौं। यो सबै हजारौं हजार सहीदको बलिदानले सम्भव भएको हो। तर यो नै पर्याप्त होइन। सहीदले खोजेको जस्तो समाज निर्माण भएको छैन । सपना पूरा भएका छैनन,’ उनले भने।

संविधानले उत्पीडित जाति र समुदायका कतिपय अधिकार सुनिश्चित गरेपनि साँचो अर्थमा अझै अधिकार पाउन बाँकी रहेको उनले बताए। वर्तमान संविधानलाई रिजर्भेसनसहित स्वीकार गरेको बताउँदै दाहालले दोस्रोपटक प्रधानमन्त्री हुँदा संविधान संशोधन गर्न कोसिस गरेको स्मरण गराए।

‘हामीले यो संविधानलाई रिजर्भेसनसहित स्वीकार गरेका हौं। मैले संशोधनका लागि प्रयास पनि गरे, तर कतिपय कारणले त्यो हुन सकेन। अहिलेको संविधानको विशेषता भनेको यसलाई परिमार्जन गर्न सकिन्छ। त्यसैले उत्पीडित वर्गले प्राप्त गर्न नसकेका अधिकार संशोधनको बाटोबाट पूरा हुन्छन्,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *