रेशम चौधरीको रिहाई मागसहित थाकसको २१ बुँदे घोषणा पत्र जारी

थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गरेको छ। बुधबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई मागसहित घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रमा शहिद स्मृति प्रतिष्ठान खोल्ने, थारु ब्यक्तित्वहरुको प्रोफाइल बनाउने, हाम्रो थाकस हाम्रो गौरव अभियान चलाउनेलगायतका नयाँ कार्यक्रमहरु थपिएका छन्।

काठमाडौं घोषणापत्रको विस्तृतमा पढ्नुस्

आदिवासी थारु समुदायको गौरवशाली राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २२औं राष्ट्रिय महाधिवेशन यहि मिति असोज ७, ८ र ९ गते काठमाण्डौमा भव्यरुपमा सम्पन्न भएको छ । “थारु समुदायको आह्वान, आत्मनिर्णयको अधिकार सहित थरुहट स्वायत्त प्रदेशको निर्माण” मूल नाराका साथ शिवदर्शन पार्टी प्यालेसमा सम्पन्न भएको तीन दिवसीय राष्ट्रिय महाधिवेशनले सभाको नयाँ नेतृत्व चयन गर्नुको साथै नीति, योजना तथा विभिन्न कार्यक्रमहरु पारित गरेको छ । महाधिवेशन बाट पारित गरिएका निर्णहरुलाई काठमाण्डौ घोषणा पत्र जारी गरिएको छ ।

१) थारु कल्याणकारिणी सभाको २२औं राष्ट्रिय महधिवेशनका गरिमामय बन्द सत्रबाट धनिराम चौधरीको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा केन्द्रीय सदस्यहरुमा कन्नुलाल चौधरी (मोरङ), जयराम पंजियार (उदयपुर), प्रेमीलाल चौधरी (काठमाण्डौ), मिनराज चौधरी (बर्दिया), उत्तम चौधरी (धनुषा) बिरेन्द्र चौधरी (सिरहा), जंजिर प्रसाद चौधरी (कपिलबस्तु) साबित्री चौधरी (सप्तरी) धर्मलाल चौधरी (काठमाण्डौ) अधिकलाल चौधरी (रौतहट), देवी प्रसाद चौधरी (रुपन्देही) कृष्ण बहादुर थारु (सुर्खेत), बृजमोहन चौधरी (पर्सा), चन्द्रनारायण सिंह थारु (महोत्तरी), आश नारायण थारु (सर्लाही), बिरेन्द्र चौधरी (नवलपुर), जानकी चौधरी (मकवानपुर), नरेस चौधरी (परासी), हरिनारायण चौधरी (झापा), नेम नारायाण सिंह थारु (बाँके), राजेन्द्र प्रसाद चौधरी (चितवन), रामचरण चौधरी (कैलाली), चूर्ण बहादुर चौधरी (दाङ), पुनित लाल चौधरी (सुनसरी), ह्दय नारायण चौधरी (बारा), भागरथी राना थारु (कन्चनपुर), दिल कुमारी चौधरी (सप्तरी), कृष्णमाया चौधरी (झापा), बिष्णु कुमारी चौधरी (चितवन), सरस्वती चौधरी (काठमाण्डौ), उर्मिला देवी चौधरी (सुनसरी), लक्ष्मी चौधरी (मोरङ), यशोदा चौधरी (दाङ), सुमित्रा चौधरी (कपिलबस्तु) र इन्दु चौधरी (कैलाली) निर्वाचित हुनु भएको छ ।
२) थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा रहस्यमय एवं सुनियोजित दुःखद् टीकापुर घटना पछि अध्यक्ष धनीराम चौधरी लगायत दर्जनौ थारु नेता कार्यकर्ताहरु माथि लगाइएको सर्वस्वहरुण सहित जन्मकैदको झुठा मुद्दा फिर्ता र जेलबन्दीहरुको निशर्त रिहाई तथा शहीद परिवारको रोजगारी, घाइतेहरुको औषधी उपचार, बिस्थापितहरुलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउनको लागि प्रधानमन्त्री, सभामुख, विपक्षि दलका प्रमुख नेताहरुलाई अल्टीमेटम सहित ज्ञापन पत्र बुझाउने ।
३) थरुहट÷थारुवान संयुक्त संघर्ष समिति संग सरकारले गरेका सहमती सम्झौतालाई कार्यान्वयन गर्नका लागि सशक्त दबाब सृजना गर्ने ।
४) २०७२ सालमा जारी गरिएको संघीय नयाँ नेपालको संविधानले आदिवासी थारु, जनजाति, मेधसी, दलित, मुस्लिम, आदिका माग मुद्धाहरु समुचित हिसावले सम्बोधन नगरेको हुनाले अविलम्ब संविधान संशोधन गरी माग र मुद्धाहरु पुरा गरियोस ।
५) कैलाली क्षेत्र नं. १ बाट अत्याधिक जनमत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थरुहट आन्दोलनकर्मी रेशम चौधरीलाई निशर्त अविलम्ब रिहाई गरी शपत ग्रहण गराइयोस ।
६) थरुहट आन्दोलनको क्रममा रहस्मय टीकापुर घटना पश्चात छानबिनका लागि बनेको देवीराम शर्मा, गृशचन्द्र लाल दासको संयोजकत्वमा गठित उच्चस्तरिय छानबिन समितिको प्रतिवेदन लगायत सम्पूर्ण जाँचबुझ सम्बन्धी आयोगका प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न जोरदार माग गर्दछौं ।
७) थरुहट आन्दोलनलाइ सशक्त बनाउनको लागि थारु समुदायको आह्वान आत्मनिर्णयको अधिकार सहित थरुहट स्वायत्त प्रदेशको निर्माण” मूल नाराका साथ माग मुद्दा मिल्नेहरु पहिचानवादी संघ संस्थाहरु संग संवाद, सम्वन्य, सहकार्य गर्दै दशै तिहार पछाडी मेची – महाकाली थरुहट जागरण अभियान सशक्त रुपमा गर्ने ।
८) थरुहट आन्दोलनका क्रममा ज्यानको आहुती बलिदानी गर्नुहुर्ने थरुहट शहीदहरुको उच्च सम्मान गर्दै “थरुहट शहीद प्रतिष्ठान” स्थापना गरी थारु समुदायको विभिन्न पक्षमा विकासका कार्य गर्ने ।
९) थारु कल्याणकारिणी सभाको काठमाण्डौमा केन्द्रीय कार्यालय को भवन निर्माण गर्नका लागि “थारु कल्याणकारिणी सभा भवन निर्माण अभियान” सुचारु गरी पाँच वर्षमा भवन निर्माण सम्पन्न गरी प्रविधियुक्त एवं व्यवस्थित गर्ने ।
१०) थारु यूवाहरुको रोजगारी एवं विद्यार्थीहरुको लागि शिक्षण संस्थाहरुमा भर्ना, छात्रबास, छात्रबृत्ति एवं विभिन्न अवसरहरुका लागि विशेष योजना बनाई पहल गर्ने ।
११) थारु किसानहरुको हक हित एवं आधुनिक कृषि प्रविधिमा जोड, मलखाद, उन्नत बिऊ बिजन, प्रविधि यान्त्रिकरणमा सहुलिय सहित समुचित बजार मूल्य निर्धारणका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने ।
१२) थारु जाति समुदायको संस्कृति संरक्षण संवद्र्धनको अभियान चलाउदै संस्कृति, धर्म, लोक कला, साहित्य, शिक्षा, आदि सहित बिस्तृतरुपमा “थारु प्रोफाइल” बनाउने ।
१३) थारु कल्याणकारिणी सभाको “आजीवन सदस्य वितरण अभियान” को रुपमा देशैभरी संचालन गरी कम्तिमा एक लाख सदस्यता वितरण गर्ने ।
१४) सभालाई अझै सशक्त एवं प्रभावकारी संगठन बनाउनको लागि “हाम्रो थाकस, हाम्रो गौरव” स्लोगनका साथ स्वदेश तथा विदेशमा रहेका थारु समुदायका संघ संस्थाहरुलाई सभामा आवद्ध गरी सहकार्य एवं समन्वय गर्दै उद्देश्य प्राप्तिका लागि सहकार्य गर्ने ।
१५) थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले उठाएको १३ बुँदे लगायतका मागहरु हालसम्म पनि पुरा नभएको हुनाले यस वर्षको दशै तिहार लाई आन्दोलनको रुपमा मनाउने ।
१६) थारु समुदायको सांस्कृतिक पर्वहरु माघी, जितीया, समाचकेवा, फगुवा (होरी), अट्वारी आदि पर्वमा सरकारले सार्वजनिक बिदा दियोस ।
१७) केन्द्र, प्रदेश तथा स्थानीय सरकार लगायत हरेक तहमा अर्थपूर्ण सहभागिता, राजनीतिक नियुक्ति एवं अवसरमा थारु समुदायको जातीय जनसंख्यको आधारमा प्रतिनिधित्वको सुनिश्चितता गरियोस् ।
१८) नेपाल सरकारद्धारा प्रतिवद्धता तथा सहमती जनाएका आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, आइएलओ महासन्धी १६९, सिबिडि कन्भेन्सन आदि अन्तर्राष्ट्रिय सन्धी सम्झौता अक्षरस कार्यान्वयन गरियोस ।
१९) सिकलसेल एनिमियाबाट प्रताडित थारु समुदायको औषधी उपचारको लागि सरकारले हाल उपलब्ध गराउदै आएको सहयोग रकम न्यून तथा अपुग भएको एवं उपचार प्रक्रिया प्रभावकारी नभएको हुनाले सरकारले उनीहरुको जीवन रक्षाका लागि यथोचित रकम वृद्धि गरी उपचार सुलभ, सहज तथा प्रभावकारी बनाउन माग गर्दछौं ।
२०) थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको दोस्रो बैठक कार्तिकको १६ र १७ गते काठमाण्डौमा बस्ने ।
२१) महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न गराउनको लागि सहयोग गर्नुहुने महाधिवेशन मूल आयोजक समिति, केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु, संरक्षकज्यू, सल्लाहकारज्यू, प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन मण्डल, सभाका जिल्ला लगायत सबै तहका पदाधिकारी एवं सदस्यहरु, स्वंसेवक, नेतागण, पत्रकार, बुद्धिजिवी, समाजसेवी, पेशाकर्मी, महिला, यूवा विद्यार्थी, किसान, उद्योगी व्यापारी सुरक्षाकर्मी लगायत प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

धनिराम चौधरी
अध्यक्ष

ईति सम्वत २०७५ असोज १० गते रोज ४ शुभम्




Leave a Reply

Your email address will not be published. Required fields are marked *