विद्यान मस्यौदामाथि छलफल, थाकसमा अध्यक्षको पोर्टफोलियो बनाउन माग

थारु कल्याणकरिणी सभा (थाकस) २२औं महाधिवेशको तेस्रो दिन विद्यानमाथि छलफल भइरहेको छ। सभाको विद्यान पुरानो धर्राको भइसकेकाले धेरै कुरामा परिमार्जन गर्नुपर्ने सहभागीहरुले आफ्नो धारणा राखिरहेका छन्।

कैलालीका कार्यबाहक सभापति माधव चौधरीले जनसंख्या र भूगोलको आधारमा नयाँ कार्यसमिति बनाइनुपर्ने बताए। उनले सबै जिल्लामा सामान जनसंख्या नभएको भन्दै जनसंख्याको आधारमा कार्यसमिति चयन गर्नुपर्ने बताए।

उनले महिलाहरुलाई पनि समावेशी समानुपातिकको आधारमा चयन गर्नुपर्ने बताए। ‘हामीले राज्यसँग समानुपातिक समावेशिताको आवाज उठाउँछौं। तर आफ्नै संस्थामा त्यो लागू गर्दैनौं। तसर्थ हामीले समानुपातिक समावेशिताको आधारमा नयाँ कार्यसमिति चयन गर्नुपर्छ,’ उनले भने।

उनले चुनावबाटै भाइटल पोस्टहरुको पनि निर्धारण हुनुपर्ने उल्लेख गरे।

त्यस्तै कतारका प्रतिनिधि विद्यानन्द चौधरीले थाकस कांग्रेसको पार्टी नभएर थारुहरुको संस्था भएकाले सभापति नभएर अध्यक्ष,  उपाध्यक्ष, महासचिव पोर्टफोलियो बनाएर जानुपर्ने बताए।

उनले थाकसभित्रको पैसाको बारेमा पनि प्रश्न उठाएका छन्। उनले थाकसमा पैसा आउँदा पनि त्यसको उपयोग हुन नसकिरहेको बताए।

त्यस्तै कैलालीकी प्रतिनिधि सुशीला चौधरीले विद्या संशोधन गरेर महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने बताइन्। उनले यो विद्यानले महिलाहरुको अधिकार कटौति गरेको बताइन्।

त्यस्तै थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले भातृसंस्थातर्फबाट बोल्दै यो विद्यान संशोधन हुनुप्रने बताए। उनले यसबारे केन्द्रीय कार्यसमिति सोच्नुपर्ने बताइन्। उनले विद्यानमा कति सदस्यीय कार्यसमिति रहने, जिल्ला समितिबारे र भातृसंस्थाको हैसियतबारे विद्यानमा स्पष्ट किटान हुनुपर्ने उनले बताए। उनले युवा नेतृत्वलाई केन्द्रीय तहमा समावेश गराउनुपर्ने मागसमेत गरे।

त्यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले सबैले आफ्नो धारणा राखेपनि कसैले त्यसबारे टिपोट नगरेको भन्दै विरोध गरे। उनले छलफलमा कुरा राख्नुको औचित्य नै नभएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *