गुरुवा बन्ने धुन

कृष्णराज सर्वहारी।
थरिथरिका खानपीन अनि मदिराको छेलोखेलोसँगै दशैँ नृत्यको उत्सव पनि हो । थारू समुदायमा हुर्किएको यो ज्यान दशैँमा नाचिने सखिया नृत्यमा खुलेर रमाउँछ । करीब दुई दर्जन युवतीहरूको बीच आपैm मादले भएर तिनीहरूसँग रमाउँदाको मजा विछट्टै हुन्छ । अझ यही सखिया विषयमा विद्यावारिधि गरिरहेकाले म हरेक दशैँमा कुनै न कुनै थारू गाउँमा सखिया नृत्यमा सहभागिता जनाइ रहेको हुन्छुँ ।
यस वर्ष पिताको निधनले औपचारिक दशैँ नभएकाले घर जाने निधो गरिएन । यदि मैले दशैंमा कुनै चिज ‘मिस’ गरे भने त्यो सखिया र अखरिया नृत्यको उमंग नै हो । सखियासंगै दशैँमा नाचिने अर्को महत्वपूर्ण नृत्य अखरिया हो । दशैँको टीकाको दिन साँझ ४÷५ बजे तिर गुरुवा (थारू धामी) हरूले गर्छन् अखबरिया नृत्य । सखिया नृत्य लगतातार दुई सातासम्म नाचिने भएकाले यो नाच अवलोकन गर्ने अवसर छुट्ला भन्ने पीर हुँदैन । तर गुरुवाहरूको नृत्य भने निश्चित समयमा सम्पन्न गरिसक्नुपर्ने भएकोले यो दृश्यावलोकन छुट्यो भने पुनः अर्को वर्ष कुर्नुपर्छ ।
थारू समुदायमा गुरुवाको स्थान महत्वपूर्ण छ । आधुनिक अंग्रेजी औषधी खाए पनि, चिकित्सककहाँ धाए पनि थारूहरू अझै पनि आस्था राख्छन् गुरुवामाथि । गुरुवा, जसले मन्त्र वाचन गरेर सम्मोहन शक्तिद्वारा रोग विसेक पार्न सहयोग गर्छ । गाउँमा जजसले गुरुवाको सेवा लिन्छन्, ती गुरुवाको बोलीमा ‘बरेन’ कहलाइन्छन् अर्थात् सेवा उपभोगकर्ता । तिनीहरू टीकाको दिन आफ्नो परिवारिक टीका सम्पन्न गरिसकेपछि गुरुवालाई दान दक्षिणाको लागि नगद रकमसहित करै (माटोको करुवा) मा रक्सी, पातमा जमरा, बाबरी आदि लिएर भेला हुन्छन् गुरुवाको घरमा । त्यहाँ सबैले गुरुवाबाट आर्शिवाद थाप्छन् । गुरुवाले आफनोबारे कुनै कम्प्लेन भए निर्धक्कसाथ भन्न अनुरोध गर्छन् । तर, गुरुवाको कमजोरी बताउन सिटिटमिट्टी आँट गरिँदैन । बरु आघौँ साल पनि तपाईको सहयोग चाहिन्छ, तपाईको वरेन हुन छाड्दिन भन्छन् ।
टीकापछि खानपीन चल्छ । खानपीनमा गुरुवाको लागि लगेको दारु आफैले खान्छन् थारूले । र, बेलुकी हुने क्रमसँगै सुरसार हुन थाल्छ अखरिया नृत्यको ।
मादलेले झ्वाङ झ्वाङ्नक् तालमा मादल टटाएपछि गुरुवाहरूको पाइला स्वतः मादलको आवाज आएतिर सर्छ । उनीहरू मुख्य गुरुवासँगै उसको घरको डेहुरार (देउता कोठा) छिर्छन् । मुख्य गुरुवाले अक्षता, जल छर्किन्छन् । पचरा गीत गाउँछन् । पचरा गीतले गुरुवाहरूको शरीरमा काँडा उम्रिन्छ । २०६१ सालमा म नेपालगञ्ज मिडिया सेन्टरमा कार्यरत छँदाको घटना हो । बर्दियाका गायक सोमलाल चौधरी पचरा गीत रेकर्ड गर्दै थिए । गीतको शक्तिले तिनमा देउता पस्यो । उनले गीत नै रेकर्ड गर्न सकेनन् । यसरी पचरा गीतमा ठूलो सम्मोहन शक्ति हुन्छ ।
अखरिया नृत्यमा गुरुवाहरूको लहरमा नयाँ गुरुवा बन्न चाहनेहरू पनि मिसिएका हुन्छन् । यो ज्यान पनि गुरुवा बन्ने लहरमा धेरै पटक मिसिएको हो । तर कहिल्यै देउता चढेन । गुरुवा, सिकारु गुरुवाहरूमा झ्वाङ मादल र पचरा गीतको बोलले देउता चढेपछि देउता कोठामा राखिएको लठ्ठी, ढकियालगायत सामाग्री बोकेर आँगनमा बाहिरिन्छन् । पूर्वतर्फको आँगनमा आगोको धुनी हुन्छ । गुरुवाहरूले जोशले त्यही आगोमा कुद्न थाल्छन् । यो ज्यान त्यही आगोमा कुदने हिम्मत जुटाउन नसकेर पनि गुरुवा हुन नसकेको हो कि जस्तो लाग्छ । गुरुवाहरूको नाचको मादलको ताल सखियामा बजाउने मादलकै ताल हुन्छ । कसै कसैले हंसीमजाक गर्न गुरुवाको कम्मरमा लेंहगा लगाइदिन्छन् । माछा मार्ने सामग्री हेल्का ओढाइदिन्छन् । गृुरुवाहरू नाच्दानाच्दै कुदेर आगो पनि निभाउँछन् । अनि मुख्य गुरुवाले देउता ओराल्ने मन्त्र फलाक्दै अक्षता छर्किएपछि विस्तारै शान्त हुन्छन् । अचम्मको कुरा आगोमा कुदेको खुट्टामा केही असर हुँदैन ।
मन्त्र मात्रै याद गरेर हुँदैन । गुरुवा बन्न दशैँमा अखरिया नाच नाच्दै आगोमा कुद्नै पर्छ, अग्नीपरीक्षा दिनैपर्छ । एसएनभीको लागि २ चरणमा करीब ४ वर्ष थारू गुरुवा र मन्त्र ज्ञान विषयमा अनुसन्धान गरी सयौं मन्त्र संकलन गरेको यो ज्यान पनि केही मन्त्रबारे जानकार छ । तर आगोमा नृत्य गर्ने हिम्मत जुटाउन सकेन । त्यसैले गुरुवा हुन सकेन । मन्त्र मात्रै याद गरेर उपचार गर्नेलाई ठेंगहा अर्थात् बोक्सा भनिन्छ । यस्तालाई समाजमा राम्रो दृष्टिले हेरिँदैन । अझै पनि रहर मारेको छैन मैले गुरुवा बन्ने । आघाँै सालको दशैँमा कसो न अगोमा कुदुलाँ, पचरा गीत, मन्त्र फलाकुँला अनि गुरुवा बनुँला । यसपालि त यस्तै भयो बरिलै …।




Leave a Reply

Your email address will not be published. Required fields are marked *