अगुवाहरुले भने, ‘थारु पर्वलाई राज्यले उपेक्षा गर्‍यो’

सवि थारु/तुलसीपुर।

अट्वारी पर्वलाई राज्यले उपेक्षा गरेको थारु अगुवाहरुले गुनासो गरेका छन्। शनिबार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल बगाल, नमूना भुह्यार थानको संयुक्त आयोजनामा अट्वारीको शुभकामना आदानप्रादन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन्।

उनीहरुले देशमा लोकतन्त्र गणतन्त्र स्थापना भएको लामो सयम वितेपनि अझैसम्म थारु समुदायले लोकतन्त्रको अनुभूति गर्न नपाएको गुनासो गरेकाथिए। देशमा विभिन्न जात जातिहरुलाई राज्यले सार्वजनिक विदा दिने गरेपनि आदिवासी थारु समुदायको परम्परागतदेखि मानिँदै आएका चाडपर्वलाई वेवास्ता गर्दै आएको समेत आरोप लगाए। राज्यले थारु समुदायलाई सम्मान र समानता गर्न चाहन्छ भने अट्वारीमा कम्तीमा दुई दिन सार्वजनिक विदा दिनुपर्ने उनीहरुको जोड थियो।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा नमूना भुह्यार थानका अध्यक्ष एवम् अधिवक्ता रामशरण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. सुरेन्द्र चौधरी, मुक्त कम्लरी विकास मञ्चका सल्लाहाकार उर्मिला चौधरी, स्थानीय बुद्धिजीवि राजबहादुर घर्ती, भूह्यारथान तुलसीपुरका उपाध्यक्ष नाराण चौधरी, साहित्यकार लब्लीन क्यानभास, पत्रकार विष्णु कुसम, कृष्णप्रसाद चौधरी, थारु पत्रकार संघ तुलसीपुरका संयोजक लालु चौधरी लगायतले आफ्नो धारणा राखेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *