स्थानीयको चासोपछि सन्जीतको स्वास्थ्यमा सुधार, अर्को शल्यक्रिया बिहीबार हुने

कारी महतो/चितवन।
विगत १८ दिनदेखि भरतपुरको एलाइभ हस्पीटल तथा ट्रमा सेन्टरमा उपचार भईरहेको सन्जीत महतोको अर्को चरणको शल्यक्रिया भदौ ८ गते बिहिबार हुँदैछ । साउन २२ गतेदेखि सन्जीतको खुम्चिएको खुट्टा सीधा बनाउनका लागि घुँडाभन्दामूनि दुई ठाउँमा प्वाल बनाई त्यसमा रडले छेडेर त्यसमा डोरी बाँधी पाँच किलो तौलको ढक झुन्ड्याइएको थियो । अहिले सन्जीतको खुम्चिएको खुट्टा सिधा हुन थालेको छ ।

सन्जीतको खुट्टाभित्र ९ वर्षअघि राखिएको स्टिलको रड बिहिबार शल्यक्रिया गरी निकालिने र तिघ्रादेखि तलसम्मको पुरै खुट्टामा प्लाष्टर गरिने छ । प्लाष्टर गरेपछि केही दिनभित्रै उसलाई घर पठाइने छ । एक महिनापछि प्लाष्टर खोलिने कुरा डा. प्रमोद लामिछानेले बताए।

सन्जीत महतोको स्वास्थ्य अवस्था बारे डा. प्रमोद लामिछानेले भने, ‘सन्जीतको घाउबाट पीप बगेको, खुट्टा खुम्चिएर बाङ्गो भएको र अनि खुट्टा छोटो थियो । दुई वटा ठीक भएको छ । छोटो भएको खुट्टाको लम्बाइ बढाउन पनि मिल्छ तर अलि समय लाग्छ।’

पहिलेको अवस्थामा फर्किनसक्छ कि सक्दैन भन्ने प्रश्नमा डा. लामिछानेले भने, ‘अहिले उसलाई अरुको सहारा बेगर वैशाखी विना नै हिड्न सक्ने बनाउने हो । सामान्य जीवन यापन गर्न सक्ने हुन्छ । तर एउटा खुट्टा छोटो भएकोले खुट्टा खोच्याएर हिड्ने हुन्छ । त्यसको लम्बाइ बढाउनका लागि करिब एक वर्ष अझै लाग्छ ।’

२०६५ सालको थरुहट आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर ९ वर्षदेखि कष्टपूर्ण जीवन बाँचिरहेका थिए । समग्र मधेस एक प्रदेशको विरुद्धमा तथा थारु समुदायलाई मधेसी सूचीबाट हटाउनु पर्ने माग राखी भएको आन्दोलनको क्रममा पूर्वी चितवनको रत्ननगरमा सुरक्षाकर्मीले गोली चलाएका थिए । त्यसैदिन कमल चौधरी र विपिन खड्काले ज्यान गुमाएका थिए । गोली लागेर घाइते भएका सन्जीतको उपचार काठमाण्डौं स्थित बिएनबी हस्पिटलमा भएको थियो । चिकित्सकले निरन्तर फलोअपमा बोलाए पनि आर्थिक अभावका कारण फलोअप उपचारका लागि जान सकेका थिएन ।

विभिन्न माध्यमबाट समाचार प्रकाशन र प्रसारण भएपछि सन्जीतको उपचारमा स्थानीयले चासो देखाए । पत्रकार सन्तकुमार चौधरीको संयोजकत्वमा बनाएको “सन्जीत महतो उपचार समिति” ले घाइते सन्जीत महतोलाई भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारका लागि ल्याएको हो । एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले सन्जीत महतोलाई पूर्ण रुपमा निःशुल्क उपचार सेवा दिइरहेको छ ।
सन्जीत महतोलाई दिगो रुपमा व्यवस्थापन गर्न स्थानीय शरदकुमार महतोको संयोजकत्वमा “सन्जीत महतो राहत कोष” समेत स्थापना गरिएको छ । सन्जीत महतोको नाममा नारायणगढ स्थित सनराइज बैंकमा बचत खाता (खाता नं. ०१७०३९९५९२२०५००१) खोली आर्थिक संकलन अभियान चलाइएको छ । उक्त खाता सन्जीत महतो र शरद कुमार महतोको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । राहत कोषमा विभिन्न व्यक्ति तथा संघ संस्थावाट आर्थिक सहयोग आउने क्रम जारी रहेको संयोजक शरद कुमार महतोले जानकारी दिए। राहत कोषमा संकलन भएको पैसाले घाइते सन्जीत महतोको परिवारको दिगो आय–आर्जनको विकल्पका लागि खर्च गरिने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *