चहराइरहेको टीकापुर व्यथा [विश्लेषण]

सीएन थारु।
टीकापुर घटनाको दुई वर्ष पुरा भयो र आज ७ गते नेपालको प्रधानमन्त्रीको हैसियतले श्री शेरवहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । संयोग नै हो कि टीकापुर घटनाका मुख्य दोषी भनिएका रेशम चौधरी पनि भारतमै रहेको बताइन्छ तर पुष्पकमल दहाल प्रधानी भई भारत भ्रमण गर्दा उनीसँग जसरी भेट भएको थियो, यस पटक सो अवसर पाउने छैन । टीकापुरमा अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भएको र जनताले द्वन्द्वभन्दा विकास चाहेको प्रचारवाजी गर्दै हिडेको बताइए पनि त्यो व्यथा बल्झिरहेको छ । २५ जना जेल जीवन विताउने आन्दोलनकारीमाथि आरोप छ कि उनीहरुले एसएसपी लक्ष्मण न्यौपाने लगायतका प्रहरी जवानको हत्या गरे । साथै एक नाबालक टेकवहादुर साउदको गोली हानी आन्दोलनकारीले हत्या गरेको रिपोर्ट सुवोध प्याकुरेल अध्यक्ष रहेको इन्सेकले प्रकाशित गरेको छ । तर नेपाल सरकार न त अध्ययन प्रतिवेदन नै सार्वजनिक गरे न दोषी भनिएका व्यक्तिहरुको प्रमाण जुटाउन सकेको स्थिति देखियो । अदालती प्रक्रियामा हाल्दै मुद्दा लम्ब्याउने र यता संविधान संशोधनको नाममा निर्वाचन गराउने जुन प्रयत्न गरे त्यसले द्वन्द्वको पुनरोत्थान गरेको छ । सत्य के हो भने गणतन्त्र नेपालको औपनिवेशिक चरित्र अन्त्यका खातिर टीकापुर व्यथा निरन्तर चहराइरहनु पर्दछ । त्यसले कम्तिमा भ्रमबाट मुक्ति दिने काम गर्छ र यो राज्यको पुनर्संरचनाका खातिर लडिएका लोकतान्त्रिक आन्दोलनको अधुरा क्रान्ति पुरा गर्न प्रेरणा प्रदान गर्नेछ ।

निर्वाचनपछिको मनोविज्ञान

यही असार १४ गते दोस्रो चरणको चुनाव अन्तरगत टीकापुर लगायतको क्षेत्रमा निर्वाचन सम्पन्न भयो । स्थानीय तहको निर्वाचनसँगै जनता आन्दोलनको भाषा छोडेको हो र अब विकासको लागि लालयित छ भन्दै नयाँ भाष्य निर्माण गर्न पुगे । शासकवर्गको प्रयत्न पनि सोही हुने प्रष्ट छ तर विशिष्टता र समग्रताको बीच चल्ने अन्तरविरोध तथा समन्वयको सन्तुलन मिलाउन सकिएन भने द्वन्द्व चर्केर जाने पक्का छ । त्यहाँ सबैको नजर लोकतान्त्रिक फोरमले निर्वाचनमा सहभागी बन्दै केन्द्रिय सरकारमा समेत हिस्सा पाएकोले अब आन्दोलन हाँक्ने शक्ति रहेन र आन्दोलन तुह्यो भन्ने भ्रम छरेको देखिन्छ । सत्य त्यो होइन र अहिले पनि स्थानीय जनता प्रादेशिक निर्वाचन प्रति आशक्ति पालेर बसेको देखिएन । जब प्रादेशिक सभाको निर्वाचन गर्ने सरकारको निर्णय बाहिर आयो त्यहाँ थरुहट आन्दोलनको विषयमा नयाँ मोडेल विकास गर्ने र त्यसलाई वैचारिक जग मार्फत बलियो बनाउने उद्देश्य लिई यहि भाद्र २५ गते भित्र राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने निर्णय सार्वजनिक भएको छ । त्यसले निर्वाचनबाट प्राप्त उपलब्धी भन्दा संघर्ष बढी महत्वपूर्ण हुने विषय थप विचारणीय बन्ने छ भने भ्रमको खेती गर्ने ती अवसरवादी चेहराको पनि नकाव फेरिने छ ।

सामाजिक सदभावको सबाल

टीकापुर घटनाबाट सामाजिक सदभाव बिग्रेको बताउनेहरु अहिले मौन रुपमा नै विकासको समर्थन गर्दै भुलाउने काम गर्दा लाग्छ कि उनीहरुलाई टीकापुर घटनाको कारण नै पत्तो भएन । प्रष्ट छ कि टीकापुर घटना कुनै आतंकवादी चिन्तनको परिणाम होइन । क्रियाको विपरित र बराबर प्रतिक्रिया हुने कुरा जानेका विश्लेषकले टीकापुर घटनाका कारणबाट अनभिज्ञ रहेको भन्न मिलेन तर अहिले एउटा भाष्य त निर्माण गरे कि थारुले टीकापुरमा आतंक मचाए र एक नाबालक टेकवहादुर साउदको गोली हानी हत्या गरे । उक्त भाष्य निर्माण गर्न यहाँका मिडिया देखि शासकवर्ग एकजुट भए । थारु राष्ट्रियता बीच एकमत रहेको छ कि हामी अखण्ड सुदुरपश्चिम नामको कुनै प्रदेश स्वीकार गर्ने छैनौं न त हामी ७५ जिल्ला नामको गलगाँड बोक्न तयार हुनेछौं । हाम्रो प्रष्ट मत छ कि राज्यको औपनिवेशिक चरित्र अन्त्य गर्न यहाँको राष्ट्रियताहरु चाहे कम संख्याका होऊन अथवा बढी संख्याका, ती स्वतन्त्र हुनुपर्दछ । त्यसैले थारु राष्ट्रियता स्वतन्त्र हुनु भनेको सामाजिक सदभाव खलबलिने विषय होइन र यसको लागि थारु राष्ट्रियताको लडाई सिधै ब्राह्मणवादी राज्यसत्तासँग रहेको छ । यस अर्थमा थारु राष्ट्रियता बाँकी अन्य राष्ट्रियताहरुको अस्तित्व इन्कार गरेको ठहरदैन र सबैको राष्ट्रियता दावी सहित उठेको आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
टीकापुर व्यथा थारुमा गहिरो होला । यसको प्रभाव गैर थारुमा छैन भन्न खोजिएको होइन तर राज्यद्वारा प्रायोजित भिडले जुन हर्कत गर्न पुगे त्यो इतिहासको पानामा लेखिए । यसलाई धेरैले दुःखद घटना भनि सम्बोधन गरेको पाइन्छ ।

अस्तित्वको लागि लडिने संघर्ष कहाँ सुखद भएको छ र ? संसारको लोकतान्त्रिक लडाईहरु दुःखपूर्वक लडिएका छन् भने टीकापुर घटना त्यसको विशिष्ट उदाहरण मात्र हो । यसको विषयमा भ्रमको खेती गर्नु सर्वथा वेइमानी ठहर्छ । छातिमा हात राखेर एक छिन गम खाऔं र विश्लेषकहरु इमानदारी पूर्वक सोचौं कि बिरालोलाई एउटा बन्द कोठा भित्र थुनेर मार्न खोज्दा त्यसले कस्तो प्रतिक्रिया देखाउने होला ? उत्तर प्रष्ट छ कि त्यसले पनि अन्तिम प्रयास स्वरुप आक्रमण मै उत्रिने छ । यसको अर्थ विरालो आफ्नो संवेदना गुमाए भन्नु कतिको न्यायोचित होला ? अवश्य नै शासकवर्गको सेवामा लिप्त ती संवेदनारहित रोबोटहरु थारुको चीरहरण गरेको बेला झन उत्साहका साथ सामाजिक सदभावको पाठ पढाउनु भनेको बेवकुफ बनाउने काम ठहर गरे जुन हालपर्यन्त जारी छ । सामाजिक सदभावको सवाल विविधतायुक्त समाजमा जटील विषय पनि हुन र यहाँ अपनाइएका विधि त्रुटीपूर्ण भएकोले बुझाई अलग अलग हुन पुगे भने अन्ततः टीकापुर काण्ड मच्चियो । तथापी छिमेकीत्वको भावना अटल राख्न आदिवासीको मौलिक चरित्र प्रदर्शन गर्दै थारु मिलेर बस्ने संकल्प गरेको छ ।

अबको कार्यभार

थारुले अहिले लोकतान्त्रिक आन्दोलनबाटै केही उपलब्धी प्राप्त गरेको छ र बाँकी उपलब्धीहरुको लागि समेत आन्दोलनको बाटो नै रोज्नुपर्छ । निरन्तर आन्दोलनको बीचबाट राज्यलाई झुकाउनु पर्दा अबको कार्यभार किटान हुनु आवश्यक हुन जान्छ । राष्ट्रिय मुक्ति क्रान्तिकै अंशको रुपमा थारुको आन्दोलन रहेको कारण यो पनि अभियान–संघर्ष–विद्रोहको कार्यदिशा तय गर्नु परेको छ । विद्रोहले नै अहिलेको अधुरो क्रान्तिलाई पुरा गर्ने भएकोले विकल्प सहितको विद्रोह सम्पन्न गर्नु अबको कार्यभार हो । त्यको लागि आवश्यक चार तयारी अनिवार्य रुपमा गर्नुपर्छ र ती हुनः वैचारिक तथा सैद्धान्तिक तयारी, राजनीतिक तथा कुटनैतिक तयारी, भौतिक तथा आर्थिक तयारी र संगठन तथा संघर्षको तयारी । समग्रमा नेतृत्वको तयारी बुझ्नु जायज ठहर्छ । यसको आधारमा मात्र नेतृत्वको संकीर्णतावादी चिन्तन, अवसरवादी चरित्र तथा पलायनवादी व्यवहार नाप्न सकिनेछ ।

अन्त्यमा,

अभियान–संघर्ष–विद्रोह मार्फत थारुले आफ्नो नियती बदल्ने लक्ष्य लिएको छ । थारुको विषय विशिष्टतामा उठाउँदा समग्रतामा स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्यायको वकालत तथा त्यसलाई सशक्त बनाउने उपायको खोजी समेत गर्ने भएकोले यो वहुआयामिक छ । यहाँ सामाजिक–साँस्कृतिक, आर्थिक तथा राजनीतिक तहको समग्रतामा नै थारुको विशिष्टता उठाइएकोले यो लोकतन्त्रको बाधक हुँदै होइनन् । थारु राष्ट्रियतालाई आफ्नै धरातल टेकेर विकसित हुने हक छ र यस अर्थमा थारुको स्वायत्तता तथा स्वशासन सुनिश्चित हुन परेको छ । त्यसको लागि सिंगो पृथ्वी जोगिनु आवश्यक देखिन्छ जुन अहिले संकट बेहोर्दै गरेको चर्चा सर्वत्र छ । यहाँका शासकवर्ग समेत दलाली गर्दै विश्वपूँजीवादी बजारलाई अनियन्त्रित रुपमा साधन श्रोत दोहन गर्न प्रोत्साहित गरेको कारण नयाँ संविधान पुनःलेखन हुनुपर्छ । वर्तमान संविधानले पृथ्वी जोगाउन आवश्यक कुनै प्रयास गर्ने संकल्प बोकेको छैन र विकासको नाममा भ्रमको खेती गर्नुको अर्थ रहेन । कम्तिमा यो दश वर्षमा उनीहरुले बाचा बन्धन गरेर निर्माण गरेको भ्रमबाट मुक्त हुने अवसर टीकापुर घटनाको उपलब्धी मान्नुपर्दछ । त्यसैले भ्रमबाट मुक्ति पाए पश्चात आन्दोलनको नयाँ मोडेलको खोजी गर्न सकिए छ र दृढ प्र्रतिवद्धता आन्दोलन प्रति रहन गएको रहेछ भन्ने थारुको नियती बदल्ने योजना सफल हुने पक्का छ । सबै त्यही सत्प्रयासमा जुटौं ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *