टीकापुर घटनाका आरोपित २५ थारुले पुर्पक्षमै विताए दुई वर्ष

थारू कल्याणकारिणी सभा (थाकस) कैलालीका अध्यक्ष लाहुराम चौधरी दुई वर्षअघि (७ भदौ २०७२) टीकापुर घटनामा धनगढीमै थिए । तर, आन्दोलनको नेतृत्व लिएकै कारण उनी पक्राउ परे । अध्यक्ष चौधरीलगायत टीकापुर घटनाको आरोपमा पक्राउ परेका २५ परिवारको अहिले कन्तविजोग भएको छ । जेल पर्नुअघि एनआईसी एसिया बैंकबाट लिएको १५ लाख ऋण भदौ मसान्तभित्र चुक्ता गर्नुपर्ने आशयको पत्र अध्यक्ष चौधरीको घरमा पुगेको छ । उनले अजगर काष्ठ हस्तकला उद्योगका लागि धनगढीको मिलनचोकस्थित एक कठ्ठा जग्गा र त्यसमा बनेको घर धरौटी राखेका थिए । बैंकमा धितो रहेको उनको घरजग्गा लिलामीको सूचना असारमै प्रकाशित भएको थियो । केही थारू अगुवाहरूले ब्याजवापतको एक लाख ३३ हजार रकम चन्दा संकलन गरेर बुझाएका कारण उनको घरबार जोगिएको थियो । अहिले पुनः लिलामीको सूचीमा चढेको छ ।

रकम तिर्न नसक्ने भन्दै आफूलाई सुकुम्बासी हुनबाट जोगाउन गृहमन्त्रालयलाई विन्तीपत्र पठाएका छन्, अध्यक्ष चौधरीले । कैलाली कारागारबाट सिफारिस भएर जिल्ला प्रशासन कार्यालयले लाहुरामको घरमा समस्या भएको भन्दै उनलाई उक्त ऋण मिनाहाका लागि सिफारिस पनि गरेको छ । लाहुराम मात्रै होइन, टीकापुर घटनामा संलग्न भएको आरोपमा कैलाली कारागारमा रहेका अधिकांशको घरबार चलाउन समस्या छ । वीरबहादुर चौधरीले टीकापुरको जनकल्याण सहकारीबाट जेल पर्नुअघि लिएको २० हजार ऋणको अहिले ब्याजसमेत जोडेर ३६ हजार पुग्यो । आर्थिक अवस्था कमजोर रहेका उनले भने, ‘घरमा खानाकै समस्या छ, श्रीमतीले त्यो ऋण कसरी तिर्ने ?’ वीरबहादुरले एक छोरा र दुई छोरीको विद्यालयको मासिक शुल्क दुई वर्षदेखि तिर्न सकेका छैनन् । ‘कान्छी छोरी एक महिनादेखि बिरामी छे भन्ने सुनेको छु । टीकापुर–धनगढी जानआउन समेत श्रीमतीसँग गाडी भाडा छैन होला, त्यही भएर भेट्न नआएकी हुन्,’ उनी चिन्तित मुद्रामा भन्छन् ।

टीकापुर घटनाको केही दिनअघि मधेशी नेताहरूको कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउ परेका युवा हुन्, विश्राम चौधरी । उनी शारीरिक रूपले अशक्त छन् । उनले टीकापुरको छिमेक लघुवित्त र ग्रामीण विद्युत् सहकारीबाट लिएको डेढ लाख ब्याजसहित दुई लाख नाघेको छ । विश्रामकी श्रीमती टीकापुरको एक इँटा भट्टामा काम गर्छिन् । बर्खामा कामविहीन हुन्छिन् । ‘१० धुर ऐलानी जग्गामा घर छ । ऋण मात्रै तिर्न सके, जेलमा तनाव हुने थिएन’ उनले भने । गाउँमा सामान्य समस्या परिआए गर्जो टार्ने भनेका समूह नै हुन् । तर, उनको परिवारलाई लामो समयसम्म ऋण नतिरेको भन्दै समूहबाटै निकालिएको छ । टीकापुर घटनामै संलग्न भएको आरोपमा पक्राउ परेका भजनी नगरपालिका ८ का जितबहादुर डंगौराको पनि डेढ बिघा जग्गा एभरेस्ट बैंकमा धितोमा छ । उनले जोशीपुरको साझा विकास बैंकबाट पनि पाँच लाख ऋण लिएका छन् । ‘दुवै बैंकमा ब्याज बढिरहेको छ, हाम्रो फैसला कहिले हुने हो थाहा छैन’, जितबहादुरले हारेको स्वरमा भने ।

नेपाल लोकतान्त्रिक फोरम, कैलाली क्षेत्र नंं ३ का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरी आफू थारू अधिकारको आन्दोलनमै लागेका कारण पक्राउ परेको बताउँछन् । आर्थिक समस्याका कारण धनगढीको नास्ट कलेजमा पढाइरहेको छोरालाई निकालेर उनले टीकापुरको सरकारीमा हालेका छन् । नेपाल बैंक लिमिटेडबाट निकालेको तीन लाख ऋण तिर्न बाँकी छ । क्षेत्रीय अध्यक्ष चौधरी भन्छन्, ‘गाउँमा थोक मदिरा पसलको उधारो १५ लाख असुल गरेर तिर्न त सकिन्थ्यो, तर जेल परेको कुरा कसले सुनोस् ।’ ८० वर्षको बूढो बाबुले घर धानेको देख्दा उनलाई निद्रा पर्दैन । जेलमै रहेका नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लक्ष्मण थारू आफूहरूमाथि राजनीतिक बेइमाानी भएको जिकिर गर्दै भन्छन्, ‘मेरै पार्टी तीन–तीन पटक सरकारमा गयो, तर हामी २५ जनालाई धरौटीमा राखेर सरकारमा जाने मात्र काम भयो ।’ उनले थाकसका केन्द्रीय अध्यक्ष धनीराम चौधरी र थारू सांसद संघर्ष समिति बनाएर नेता रामजनम चौधरीले त्यतिबेलाको आन्दोलन हाँकेको तर निर्दोष नागरिक पक्राउ परेको बताए ।

सरकारले ८ भदौ ०७२ मा भएको आगजनी र तोडफोडका पीडितलाई स्थानीय चुनावअघि १५ करोड क्षतिपूर्ति बाँडेको छ । जेलमा रहेकाहरूले यसलाई सरकारको राम्रो कदम पनि भनेका छन्, तर बिना कुनै निर्णय दुई–दुई वर्षसम्म पुर्पक्षमा राखिँदा उनीहरू दिक्क छन् । ‘या त कुनै फैसला सुनाउनु पर्‍यो, या रिहा गर्नुपर्‍यो, दुई–दुई वर्षसम्म पुर्पक्षका नाममा कारागारमा राख्नु अन्याय हो,’ नेता लक्ष्मण थारूले भने । संविधान जारी हुनु एक महिनाअघि ४ भदौ २०७२ मा भेरी र कर्णालीलाई सहज हुनेगरी सातौं प्रदेश रचना भएपछि थरुहट पक्षधर चिढिएका थिए । अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीच मतभेद बढ्दै जाँदा ७ भदौमा थरुहट प्रदर्शनका क्रममा हिंसा हुँदा एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक बालकको ज्यान गएको थियो । त्यसमा संलग्नताको आरोपमा थारू अगुवा र स्थानीयवासी समातिने क्रम पछिसम्मै चल्यो ।
शिवराज भट्ट/धनगढी/अन्नपूर्ण टुडे




Leave a Reply

Your email address will not be published. Required fields are marked *