जेब्रा क्रसिङमै मारिइन् २३ वर्षीया रविना चौधरी

जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला बसले ठक्कर दिँदा राजधानीको बसुन्धारामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी निवासी २३ वर्षीया रविना चौधरी रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नम्बरको बसले ठक्कर दिएको महानगरीय प्रहरीवृत्त चक्रपथका प्रमुख गोविन्द पुरीले जानकारी दिए। चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। राजधानीको सुकेधारामा बस्दै आएकी रविना बसुन्धारा चौकीस्थित एउटा स्कुलमा शिक्षिका थिइन्।

प्रत्यक्षदर्शीका अनुसार बसले खुट्टामा छोएसी चौधरी ढलेकी थिइन्। ढलेकी चौधरी उठ्नै लाग्दा ड्राइभरले ब्याक गरेर मारेको प्रत्यक्षदर्शीको भनाई छ।

दुर्घटनालगत्तै स्थानीयबासी आक्रोशित बनेका थिए। प्रहरीले जेब्रा क्रसिङबाट बाटो काट्न आह्वान गरिरहेका बेला यस्तो घटना घट्नु दुःखद भएको स्थानीयहरुले बताएका छन्। ट्राफिक व्यवस्थापन नै गतिलो नभएको बताउँदै स्थानीयहरुले जेब्रा क्रसिङमा ट्राफिक लाइटको व्यवस्था गर्न माग गरे। यस्ता ड्राइभरहरुलाई कडा कारबाही नगरिए यस्ता घटना मौलाउँदै जाने उनीहरुको भनाई छ। त्यसैले ड्राइभरलाई हदैसम्मको कारबाही गर्न उनीहरुले प्रहरीसँग माग गरेका छन्।

प्रहरीले बस र बसका चालक विनय तामाङलाई नियन्त्रणमा लिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *