अन्तर्राष्ट्रिय पदक विजेतालाई नगदसहित सम्मानित

कारी महतो/चितवन।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक जितेका खेलाडीहरु तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका छन् । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खैरहनी नगरपालिका वार्ड नं. १ का दुई जना खेलाडीहरु र रत्ननगर वार्ड नं. ४ निवासी टिम कोच रोशन खान सम्मानित भएका छन् । गोल्डमेडलिस्ट रञ्जित चौधरी र सिल्भरमेडलिस्ट धनबहादुर दराईलाई क्रमशः सात हजार र पाँच हजार नगद सहित सम्मान गरिएको हो । राष्ट्रकै गौरव र गरिमा उच्च राख्न सफल भएकोमा सिर्जनशील थारु समाज र बहेरा साउण्ड सिस्टमले उनीहरुलाई सम्मान गरेका हुन् । हाल अमेरिकामा तेक्वान्दो प्रशिक्षणरत रामशरण चौधरीले नगद पुरस्कार सौजन्य गरेका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि चितवन क्षेत्र नं. २ का निर्वाचित सांसद शेषनाथ अधिकारीले तिहारको शुभकामना सहित बहेरा चोकदेखि थारु टोलको बाटोलाई यसैवर्ष पीच गर्नका लागि बजेटको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मानित खेलाडीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै टिमकोच रोशन खानले आफूहरुलाई सम्मानित गरेर हौसला बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वहाँले नौ जना खेलाडीहरुलाई थाइल्याण्ड लगेको र सातवटा मेडल जितेर फर्केको जानकारी गराउनु भयो ।

उदघाटन समारोहमा नेपाली काँग्रेसको तर्फबाट अतिथिहरु कुमार कार्की, माओवादी केन्द्रका तर्फबाट एकराज डल्लाकोटी, महिलाको तर्फबाट वडा नागरिक मञ्चका सहसंयोजक राधा पोखरेल, थारु समुदायका तर्पबाट थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । उद्घाटन समारोह कार्यक्रम सिर्जनशील थारु समाजका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संयोजक हरिकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको साङ्गीतिक माहोलमा गायक अञ्जन डल्लाकोटी र आर के चौधरी लगायत स्थानीय कलाकार र नव प्रतिभाहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै विराटनगरका प्रख्यात नाट्यकर्मी तथा रङ्गकर्मी आर. बि. के. को परिकल्पना र निर्देशनमा रुन्चे बालक (क्राइङ्ग बेबी) नामक मुक नाटक (साइलेन्स ड्रामा) प्रदर्शन गरिएको थियो । १३ मिनेटको नाटकमा कुनै सम्वाद थिएन । नाटकले नेपालको नयाँ संविधान छिट्टै कार्यान्वयनमा नआए वैदेसिक हस्तक्षेप बढ्ने र शक्तिसम्पन्न राष्ट्रहरुले नेपालमा चलखेल गर्दै नेपालका नेताहरुकै हातबाट नयाँ संविधानलाई निमोठेर मार्न सक्ने सन्देश दिएको छ । सञ्चारकर्मी सुमित्रा महतोले कार्यक्रममा उदघोषण गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *