राना थारुकाे संस्कृति हेर्न हजार बढी पर्यटक

नेपालकै पहिलो रानाथारु सामुदायिक घरबास स्थापनाको १० महिनामा एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका छन् । गत वर्ष मङ्सिरदेखि कञ्चनपुर, भीमदत्तनगरपालिका–१६ नयाँ कटानमा सञ्चालित सो ‘होमस्टे’मा एक हजार १०० भन्दा बढी पर्यटक आएका छन् ।

घरबास समितिका सचिव चेतराम रानाले भने, “पहिलो वर्षमै यतिधेरै पर्यटक आउनाले होमस्टे सञ्चालनमा लाग्ने साथीको मनोबल बढेको छ, व्यवस्थापनतर्फ पनि थप सुधार हुँदै गइरहेको छ ।” उनले करिब ९० प्रतिशत पर्यटक स्वदेशी आएको जानकारी दिए ।

यहाँ आउने पर्यकटको मुख्य रोजाइ रानाथारु वेशभूषा र नृत्य छ । “पर्यटकले हाम्रो परम्परागत पहिरन खुबै मन पराए”, रानाले रासससित भने– “सञ्चालनको पहिलो वर्ष सुखद् नै रह्यो ।” पहिलो वर्षमा गत असार मसान्तसम्म रु छ लाख आम्दानी समेत भएको समितिले जनाएको छ ।

हाल आठ घरमा घरबास सञ्चालित छ । दसैँमा भने पर्यटक त्यति आएनन् । “दसैँभरिमा एक जना पोर्चुगलका नागरिकले एक साता होमस्टेमै बिताए”, उनले भने– “स्वदेशी पर्यटक दसैँ मनाउन होमस्टे आएको देखिएन ।”

वर्ष दिनको अनुभव सुनाउँदै घरबास सञ्चालकले घरबास सञ्चालनले आफ्नो कलासंस्कृतिको जगेर्न हुनाका साथै नयाँ पुस्ताले पनि आफ्नो परम्परा, कला संस्कृतिका बारेमा जानकारी पाएका बताउँछन् । “हामीले अहिले होमस्टे होइन, आफ्नो परम्परागत संस्कृतिका बारेमा पनि धेरै जानकारी पायौँ”, स्थानीयवासी केसमती रानाले भनिन्– “हाम्रा गरगहनाका किसिम देखेरै म त दङ्ग परेको छु ।”

आफूहरु घरबास सञ्चालनपछि परम्परागत गहना, पहिरन, रीति, संस्कृतिमा जुटेको उहाँको भनाइ थियो । शुक्लाफाँटा वन्यजन्तु आरक्षसित जोडिएको र एसियाकै लामो महाकाली नदीमा झोलुङ्गे पुलको बीच क्षेत्रमा घरबास सञ्चालन भएकाले पनि पर्यटन विकास हुँदै जानेमा उनीहरु आशावादी छन् । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *