बाबुरामको प्रश्न- कसले भन्यो संविधान संशोधन हुन सक्दैन ?

संविधानसभाबाट जारी गरिएको संविधानका केही अन्तरवस्तुप्रति असन्तुष्टि जनाउँदै आएका राजनीतिक दलको भावनालाई समेट्नेगरी संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई सुझाव दिइएको छ ।  नयाँ शक्ति पार्टी, नेपालले आज यहाँ आयोजना गरेको संविधानका अवसर, चुनौती र भावी कार्यदिशा विषयमा संविधान संवाद कार्यक्रमका वक्ताले राजनीतिक दलहरुबीच छलफल गरेर संशोधनका बुँदामा सहमति जुटाउन सुझाएका हुन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान लेखेपछि लेखियो अब परिवर्तन गर्नुहुन्न र संविधानका विषयमा सहमति छैन पुनर्लेखन गर्नुपर्छ भन्ने दुवै अतिवाद ठीक नभएको बताउँदै सहमतिका आधारमा सबैको अपनत्व हुने गरी संशोधन गर्नुपर्ने बताए ।

चार हजार वर्षको इतिहासमा नेपाली जनतालाई यस संविधानले सार्वभौम मानेको उल्लेख गर्दै उनले भने–“आधुनिक लोकतन्त्रका आधारभूत तत्वहरु संविधानले समेटेका छन्, सङ्घीयता र शासकीय स्वरुपका विषयमा संशोधन गर्नुपर्छ, त्यसमा सहमति जुटाउनुपर्छ ।”

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले संविधानले आमजनतालाई एकताबद्ध गर्न सफल भए पनि कार्यान्वयनका चरणमा थुप्रै चुनौती रहेकाले त्यसका लागि सबैले संविधानका केही बुँदामा संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थिर सरकारका लागि शासकीय स्वरुपलाई संशोधन गर्नुपर्ने अवस्था आएको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानप्रति निराशा जारी गरेर कोही पनि निष्कर्षमा पुग्न नसकिने भएकाले छापामार शैलीमा संविधान संशोधन हुन नसक्ने बताए । उनले सबै नेपालीको साझा समृद्धिका लागि संविधान संशोधन गरेर अधिकांशको स्वीकार्य बनाउन संविधान संशोधन गर्न सकिने धारणा राखे ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पहिचान र अधिकारका विषयलाई संविधानले प्रष्ट पार्न नसकेकाले संविधानलाई गतिशीलता दिनका लागि संशोधन आवश्यक रहेको बताए । उनले पनि शासकीय स्वरुप र सङ्घीयताका विषयमा सहमतिमा संशोधन गर्नुपर्ने बताए ।

थरुहट पार्टीका उपाध्यक्ष तथा सभासद् गङ्गा चौधरीले मधेसी र थारुका अधिकारलाई संविधानले सम्बोधन गर्न नसकेकाले त्यसलाई संशोधन गरेर उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसी र थारु जनताका अधिकारलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै त्यसका लागि राजनीतिक दलबीच सहमति आवश्यक भएको बताए ।

नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले सबै नेपालीले संविधानको अपनत्व नलिएसम्म मुलुकमा शान्ति कायम नहुने भन्दै त्यसका लागि संविधानको संशोधन आवश्यक भएको बताए ।

कार्यक्रममा सहभागी अन्य वक्ताले संविधान गतिशील दस्तावेज भएकाले यसको सफल कार्यान्वयनका लागि परिवर्तन गर्दै लैजानुपर्ने र त्यसका लागि सबै राजनीतिक दलले सहमति गर्नुपर्नेमा जोड दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *