थारु समुदायको चाडपर्वमा स्थानीय विदाको माग

कारी महतो थारु/चितवन।

थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन्। थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको सवाल उठाएपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोश्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाइएको छ। थाकस क्षेत्रीय सभापति नारायण प्रसाद महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिद्वारा उक्त कुरा भनिएको हो।

 थारु समुदायले प्रत्येक वर्ष आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमीका दिनमा जितिया र औंसीका दिनमा पितृऔंसी पर्व धुमधाम मनाउने गर्दछन्। यस वर्ष जितिया पर्व असोज ६, ७ र ८ गते र पितृऔंसी असोज १३ र १४ गते परेको तर सोही दिनमा निजि स्कुलहरुले दोश्रो त्रैमासिक परीक्षा कार्यक्रम राखेकोले उक्त परीक्षा अन्य दिनमा सारेर भएपनि विदा गर्न अनुरोध गरिएको छ। प्रेस विज्ञप्ति मार्फत् अनुरोधलाई बेवास्ता गरी थारुको स्वतन्त्र पहिचानमाथि धावा बोल्ने क्रम नरोकिए परिस्थिति निकै जटिल बन्ने चेतावनी दिइएको छ।

चाडपर्वमै परीक्षा राखिदा संविधानको धारा ३२ ले दिएको थारु बालबालिकाहरुको मौलिक हक हनन भएको बताईएको छ। परीक्षाका दिन बालबालिकाहरुले प्रत्यक्ष रुपमा आफ्ना सँस्कृति बारे बुझ्न, सिक्न र अनुभव गर्न पाउँदैनन्। फलस्वरुपः थारु सँस्कृति विस्तारै लोप भई पहिचान नै नष्ट हुने खतरा बढेकोले सम्पूर्ण शिक्षण संस्थाहरुमा उक्त दिनहरुमा विदा हुनुपर्ने जनाइएको छ। संविधानको मौलिक हकखण्डको धारा ३२.२ को भाषा तथा संस्कृतिको हकमा “प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको साँस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ।” लेखिएको छ। त्यस्तै ३२.३ मा “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, साँस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ।” उल्लेख गरिएको छ।

“पहिचानको लागि आन्दोलन गरिरहेका संगठनले उठाएको जायज मुद्दालाई अटेर गरी हेपाहा प्रवृति दोहोर्‍याएमा परिस्थिति जे पनि हुनसक्छ। त्यस्तो परिस्थितिमा हामी थारु युवाहरुलाई नियन्त्रण गर्न सक्ने छैनौं। समयमै सचेत गराउन चाहन्छौं,” विज्ञप्तिमा उल्लेख छ।

tks-bigyapti




Leave a Reply

Your email address will not be published. Required fields are marked *