थारु पर्व : अनत्तर (अनन्त) ब्रत

दिलबहादुर चौधरी।

धेरै इतिहासकार र बिद्वानहरुमा थारुबारे बिबाद देखिएको छ । कतिपयले थारुहरुलाई किरात मानेका छन् भने कसैले द्रविड मूलका मानेका छन् । कसैले किरात, कसैले द्रविड भनेपनि धेरै इतिहासकार र बिद्वानहरुले थारुहरुलाई अनार्य भएको बताउँछन् । डा. रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार, सुबोधकुमार सिंह, महेश चौधरी, गोपाल दहितले थारुहरुलाई बौद्ध मानेका छन् भने थारु लोकगीत बर्किमारलाई पुस्तकको रुप दिने दाङ्गका अशोक चौधरीले थारुहरुलाई हिन्दू भएको स्वीकार्छन् । लेखक कृष्णराज सर्बहारी, इन्सेकका बरिष्ठ अधिकृत सुशिल चौधरी लगायतका ब्यक्तिहरु थारुहरुको आदि देवता गुर्बाबा हुन् र थारुहरुको छुट्टै धर्म छ भन्ने कुराको नजिक देखिन्छन् । थारु कल्याणकारिणी सभा पनि थारुहरु बौद्ध धर्माबलम्बी हुन् भन्ने कुराको जिकिर गर्दछ । त्यसैले उ बि.स. २०६५ मा थारुहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी थारुहरु बौद्ध रहेको घोषणा गरेको छ ।

एकातिर थारुहरुको हकअधिकारको लागि बोल्ने संगठन थाकसले थारुहरु बौद्ध भएको घोषणा गरेको छ भने अर्कोतिर थारुहरुको पूजास्थल, उनीहरुले मान्ने चाडपर्व, तरत्यौहार, ब्रत आदि हिन्दूसँग मेल खाने गरेको देखिएको छ । धेरै समयसम्म सँगसँगैको बसाई, हिन्दूहरुको एकछत्र राज, राज्यको धर्म हिन्दू भएको कारणले पनि सांस्कृतिक मिसावट भएको हुन सक्छ । यसरी थाकसको घोषणा, चाडपर्व र पुर्खाहरुको भनाई, लेखकहरुको लेखाई आदिले थारु समुदायलाई अझ जिज्ञासु हुन मजबुर पारिरहेको छ ।

कुरा जे होस्, थारुहरु बौद्ध हुन् या हिन्दू, आर्य हुन् या अनार्य, द्रबिड होउन् या किरात, उनीहरुले मान्ने कतिपय चाडपर्व, देव–देवी र हिन्दूहरुले मान्ने चाडपर्व, देव–देवी मिल्दोजुल्दो देखिन्छन् । यस्तै चाडपर्व मध्येको अनत्तर ब्रत (अनन्त ब्रत) पनि एक हो । जहाँ गाउँका धेरै महिला, पुरुष, केटी, केटा सँगै बसी बडो हर्षोल्लासपूर्वक यो ब्रत मान्ने गर्दछन् । पहिले पहिले लोग्ने मानिसहरु मात्रै बस्ने यो ब्रतलाई अहिले आईमाई, केटीहरुको सहभागिताले झन रमाइलो बनाइदिएको छ ।

tharu-festival-ananta-03अनन्त ब्रतको सार
हिन्दू धर्मग्रन्थहरु (ब्रम्ह पुराण, ) का अनुसार द्वापर युगमा महाराज युधिष्ठिरले राजसूर्य यज्ञ गरेका थिए । त्यतिबेला यस्तो सुन्दर र मनोरम यज्ञ मण्डपको निर्माण गरिएको थियो कि त्यहाँ तलाउ र जमिन छुट्ट्याउन निकै गार्हो थियो । त्यही बिचमा एकदिन दुर्योधन कतैबाट घुम्दै त्यहाँ पुगे र तलाउलाई भुईं मानेर हिंड्दा लडे । त्यतिबेला हाँस्दै द्रौपदीले ‘अन्धाको छोरा अन्धा’ भनी खिल्ली उडाइन् । दुर्योधनको मुटुमा त्यो बचनबाण बिझ्यो । त्यसैको बदला लिन दुर्योधनले पाँच पाण्डवहरुलाई एक दिन हस्तिनापुरमा डाके र छल, कल र बलले जुवापासामा पराजित गरे । प्रतिज्ञा अनुसार पाण्डवहरु १२ बर्ष बनवास बसे । बनबास बस्ने क्रममा पाण्डवहरु निकै दुःख, कष्ट सहे । बनबासकै क्रममा श्रीकृष्ण पाण्डवहरुलाई भेट गर्न गए र भलाकुसारी गरे । युधिष्ठिरले सो अवधिमा धेरै दुःख–कष्ट सहनु परेको खबर सुनाए । उनले दुःख कसरी कम गर्न सकिन्छ भनी उपाय सोधे । श्रीकृष्णले पाँच भाई पाण्डवहरुलाई अनन्त भगवानको ब्रत बस्ने सल्लाह दिए र कथा सुनाए ।

‘सत्य युगमा सुमन्त नामका एक मुनि थिए । उनको पत्नीको नाम दीक्षा थियो । उनीहरुको एक छोरी थिई, छोरीको नाम सुशीला थियो । सुशिला जवान नहुँदै दीक्षाको मृत्यु भयो र मुनिले कर्कशासँग दोश्रो बिबाह गरे । ठूली भएपछि ऋषिले छोरीको बिबाह कौडिन्य ऋषिसँग गरिदिए । बिदाईको बेलामा सुशीलाकी सौतेनी आमा कर्कशाले कौडिन्यलाई केहि ईट्टा र ढुङ्गाका टुक्राहरु पोको पारी दिए । ससुरालीले दिएको दाइजो भनी कौडिन्य ऋषि पत्नीसहित घर हिंडे । बाटोमा एक नदी थियो, त्यहाँ पुग्दा उनीहरु थाके र बिश्राम गर्न लागे । सुशीला, नदीको अर्को छेउमा सिंगारपटार गरेर केहि महिलाहरु कुनै देवताको पूजा गरिरहेको दृश्य देखिन् र जिज्ञासा राखिन् । उनीहरुले अनन्त भगवानको पूजा गरिरहेको जानकारी गराए र अनन्त ब्रतको महत्व बताए ।

सुशीलाले उनीहरुसँगै अनन्त भगवानको पूजा गरिन् र चौध वटा गाँठा भएको अनन्त धागो हातमा बाँधिन् । त्यो भाद्र महिनाको शुक्ल चतुर्दशी थियो । घर पुग्दा उनलाई दिइएको ईट्टा ढुङ्गा हीरा–मोती भयो । ऐशआरामको जिन्दगी बित्न थाल्यो । केहि दिनपछि ऋषि कौडिन्यले सुशीलाको बायाँ हातमा बाँधेको पहेंलो रंगको धागो देखे । उनलाई लाग्यो, सुशीलाले आफूलाई बशमा राख्न टुनामुना गरेको धागो बाँधेकी छ । उनले सोधिहाले, तिमीले मलाई बशमा राख्न यो टुनामुना गरेकी छ्यो कि क्या हो ? सुशीलाले थाहा पाएको कुरा बताइन् । तर धनदौलतमा मस्त कौडिन्य, बशीकरण गर्नलाई बाँधिएको डोरो भनी चुँडेर आगोमा जलाइदिए । यसले भगवान अनन्त अपमानित भए र कौडिन्य केहि दिनमै गरिब हुँदै गए, कष्ट झेल्न थाले । कौडिन्य ऋषि, सुशीलासँग किन यति धेरै दुःख कष्ट आउन थाल्यो भनी कुरा गरे ।

सुशीलाले अनन्त भगवानको अनन्त डोरी जलाएकोले यस्तो भएको कुरा बताइन् । ऋषिले त्यसपछि पश्चाताप गर्दै भगवान अनन्तसँग क्षमा माग्नलाई भगवानको खोजीमा जंगल पसे । तर भगवानलाई फेला पार्न सकेनन् । धेरै दिनपछि उनी कमजोर भए, एक दिन भुईमा लडे । दर्शन नपाएपछि उनी प्राण त्याग गर्ने निर्णय गरे । त्यही बेला भगवान अनन्त प्रकट भए र भने ‘ऋषि, तिमीले जुन अनन्त धागोलाई आगोमा पोल्यो, यो उसैको फल हो, तिमी चौदह बर्ष यसको प्रायश्चित गर । कौडिन्यले त्यसै गरे र अन्तमा उनको अवस्थामा सुधार आयो । उनी फेरी सुखी जीवन जिउन थाले । त्यसैले हे पाण्डवहरु हो, तिमीहरु अनन्त भगवानको अनन्त ब्रत बस भनी श्रीकृष्णले पाण्डवहरुलाई सल्लाह दिए । भगवान कृष्णको सल्लाह अनुसार पाँच पाण्डव पनि दौपदीसहित अनन्त भगवानको ब्रत बसे र कष्टबाट मुक्ति पाए । यसरी अनन्त ब्रतको शुरुवात भएको हो ।

नेपालमा यो ब्रत
नेपालमा यो ब्रत कहाँ कहाँ, कुन कुन समुदाय बस्छन्, यकिन थाहा छैन, तर कैलालीका पूर्वी क्षेत्रका थारुहरु यो ब्रत बस्ने गरेका छन् । जिल्लाको पश्चिमी भेकका थारुहरुमा यस ब्रतबारे जानकारी छैन । न त आफूलाई हिन्दू भन्ने अन्य जातजातिहरुलाई यसबारे जानकारी भएको देखिन्छ । रुपन्देहीका थारुहरुमा पनि यो ब्रत बस्ने चलन भएको जनकबि बम बहादुर थारु बताउँछन् । यो ब्रतको लोकप्रियता भने महिला, पुरुष, केटी, केटाबिचमा बढ्दै गएको छ ।

पूजा सामाग्री र पुज्य देव
यो ब्रतमा बिशेषगरी कलश, लोटा, कुश, आमको पात, सुकेका दाउरा, हल्दी, धागो, सिन्दूर, फलफूल (काँक्रा, केरा, अमिला, अम्बा आदि) आवश्यक पर्दछ । यसमा बिशेषगरी भगवान अनन्त अर्थात बिष्णुको पुजा गरिन्छ । हरेक पुजामा गणेश पहिले पुजिने हुनाले गणेश पनि स्थापित हुन्छन् । यो दिन गणपति पुजाको समापन गरिने हुनाले पनि बिशेष महत्वको दिन मानिन्छ ।

tharu-festival-anantaब्रत बिधि
यो ब्रतमा ब्रतालुहरु पानीसमेत नखाई भोकै बस्ने चलन छ । साँझ पुजापाठ गरी प्रसाद बाँडी खाने र सूर्यास्त हुनु अगावै भगवान अनन्त देवलाई अग्राशन दिई खाने चलन छ । अन्य ब्रत जस्तै यस ब्रतमा पनि ब्रतालुहरु भिन्सर्या (दर) खाने गर्दछन् । बिहान काम गरी नुहाई धुवाई गरी नौ, दश बजे थालमा गोबर गणेश, चामल, हल्दी, सिन्दूर, कच्ची धागो या सेतो पातलो धागो, काँक्रा, फलफूल लिएर गाउँको कुनै एक घरमा जम्मा हुन्छन् । त्यहाँ कलशमा कुशको अनन्त भगवान स्थापित गरिएको हुन्छ र लोटामा कुशको औंठी र आँपको सानो पातसहितको हाँगा राखिएको हुन्छ । गोबरको कन्डा (सुकेको गुइँठा) को आगो एक ठाउँमा बालिएको हुन्छ र धूपी सल्ला, घिउको मिसावटसहितको धूप तयार गरी आगोमा धूप हाली, पानी चढाई पालैपालो पूजा गरिन्छ ।

ब्रतालुहरु जति चोटी दिसा–पिसाबका लागि बाहिर जान्छन्, त्यति नै पटक उनीहरु अग्यारा (तयार पारिएको धूप चढाउँछन्) गर्छन् । चौध बित्ता, चौध सूत (लर) धागोको रस्सी बनाउँछन् र बिशेष प्रकारले चौध वटा गाँठो पारी अनत्तर (अनन्त) धागो (रक्षा सुत) बनाउँछन् । सबैले आफ्नो अनन्त धागो (रक्षा सूत) र गोबर गणेशमा टीका टाला गरेर पालैपालो सबैको अनन्त धागोमा टीकाटाला गर्छन् । हल्दीमा पानी हाली अनन्त धागोलाई रंगाउँछन् । त्यसपछि पुरुषले दायाँ हातमा र स्त्रीले बाँया हातको पाखुरामा अनत्तर (अनन्त) बाँध्छन् । हवनका लागि आँपका सुकेको दाउराले कुवा बनाउँछन् र एकजनाले सबैका तर्फबाट हवन कुवामा हवन सामाग्री हाल्दै सबैको दुःखदर्द नाश होस्, सबैको मनोकामना पुरा होस्, चिताएको फल प्राप्त होस् भनी पुजा गर्दछन् । अनि पालैपालो कलशमा राखेको लोटाको पानी, हातमा कुशको औंठी लगाई चलाउँछन् । जसलाई समुद्र मन्ठन गरेको भन्छन् ।

नजिकै बस्नेले लोटाको पानी चलाउने ब्यक्तिलाई ‘का ढिकढोरटे (के मन्थन गर्दैछौ) ?’ भनी सोध्छन् । उनले समुन्दर (समुद्र) भनी जवाफ दिन्छन् । प्रश्न कर्ताले पुनः ‘का मागटे (के माग्दैछौ) ?’ भनी प्रश्न गर्छन् । उनले ‘अन, धन, बल, बुद्धि, पुत, परिवार, गौलक्ष्मी, बडे अनत्तर (अनन्त) के फल’ भनी जवाफ दिन्छन् । अर्थात मनमा लागेको कुरा सबैसामु सुनाएर माग्छन् । यो हरेकले तीनपटक गर्छन् ।, कुनै कुनै ठाउँमा पाँच पटक पनि गर्छन् । यो क्षण बडो रमाइलो हुन्छ । यो प्रक्रिया सकिएपछि आफूले भगवानको प्रसादको रुपमा लगेको काँक्रो, फलफूल भगवान गणेश र अनन्तलाई चढाउँछन्, प्रसादको रुपमा सबैलाई दिन्छन् र आफूले पनि ग्रहण गर्दछन् ।

उता हरेकको घरमा पकाउनेले नुहाई धुवाई, सफासुग्घर भएर अन्दी धान (बिशेष प्रकारको धान) को चामलको रोटी पकाएको हुन्छ । सूर्यास्त हुनु अगावै उक्त तयार गरिएको रोटी, ब्रतालुले पूजा गरी, अग्राशन निकाली आफू सेवन गर्छन् । सूर्यास्त भएपछि खान मनाही हुन्छ । कसै कसैले पानीसम्म सेवन गर्छन् । बिहान नुहाई, धुवाई गरी पूजाआजा गरी घरमा लिपपोत गरिएको ठाउँमा बस्छन् । तयार भएको खाना– पकवान एक आफ्नो भाग र अर्को अनन्त भगवानको भाग अग्राशनको रुपमा अगाडि निकाल्छन् । खानलाई तयार गरेको हरेक कुरा अलिअलि धूपसँगै आगोमा चढाउँछन्, अग्राशनलाई अनन्त भगवानलाई चढाउँदै अलि पर सार्छन् र तीन देखि ५ गास खाएपछि हात धोई, हातमा बाँधिएको अनन्त सूत निकाल्छन् र गाईको दूधमा धुन्छन् र खाना खान्छन् । भगवानलाई भोग लगाइसकेको अग्राशन, कृष्ण जन्म अष्टमी, अतवारी जस्तै बिहा भएका चेली–बेटीको घरमा दिन जान्छन् ।

यो ब्रतमा चौध सुत (लर) धागोको रस्सी तयार हुन्छ र रस्सीमा बिशेष प्रकारले चौध वटा गाँठो तयार गरिन्छ । यो अनन्त सूत धागोको ठूलो महत्व हुन्छ, यो रक्षा सूत भएकोले ब्रतालुले पाखुरामा बाँधेपछि उसको हरेक बिघ्नबाधा नष्ट हुन्छ, मनमा सोचेको फल प्राप्त हुन्छ भन्ने जनबिश्वास रहेको छ । ब्रतालुले यो ब्रत १४ बर्षसम्म बस्न अनिवार्य हुन्छ । परिस्थितिबश १४ बर्ष बस्न नसकिने भएमा ब्रतालुले ब्रत बसेको बर्षमा १४ वटा अनन्त धागो तयार गरी सँगै सेलाई ब्रतको समापन गर्नुपर्दछ भन्ने मान्यता रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *