थारु पत्रकारका लागि १ लाख ११ हजार १११ रुपैयाँको अक्ष्यकोष घोषणा

ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. मनोजकुमार चौधरीले थारु पत्रकारिता पुरस्कारका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिने घोषणा गरेका छन्। उनले थारु पत्रकारहरुलाई प्रोत्साहस्वरुप उक्त अक्ष्यकोष रकम दिन लागेको बताए। ‘पहिलोपटक हाम्रो ठाउँमा आएर राष्ट्रिय भेला गर्दै हुनुहुन्छ। यही अवसरमा थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिन घोषणा गर्दछु,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने।

त्यस्तै एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ। भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ। त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग पनि भेलाले गरेको छ। भेलाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ। ‘२०७२ भदौ ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुहरुलाई तत्काल रिहाई गरियोस्। घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाई र ८ गतेको थारुको घर जलाउनेहलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस्,’ घोषणा पत्रमा उल्लेख छ।

त्यस्तै भेलाले रेशम चौधरीको फूलबारी एफएम सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरेको छ। ‘टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफएम जलाइएको छ। त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस्। लिजमा लिएर एफएम सञ्चालन गरिरहेका पत्रकार योगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,’ घोषणा पत्रमा उल्लेख छ।

भेलाले पत्रकारको न्युनतम पारिश्रमिक दिन पनि सञ्चारमाध्यम सञ्चालनकर्तासँग अनुरोध गरेको छ। नेपाल सरकारको रातो किताबमै प्रकाशन भइसकेकाले भेलाले न्युनतम पारिश्रमिक दिन आग्रह गरेको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *