थारू संस्कृतिमा श्रीकृष्ण महिमा

कृष्णराज सर्वहारी।

जुनसुकै समुदायले कुनै न कुनै धर्मलाई अनिबार्य रूपले अंगीकार गरेको पाइन्छ। ब्यक्ति नास्तिक हुन सक्ला तर समुदायको कुनै न कुनै धर्मप्रति आस्था हुन्छ, जसले उसको जीवन्त इतिहास, संस्कृतिको पनि पहिचान दिइरहेको हुन्छ। नेपालमा बसोबास गर्ने जातीय, भाषीक हिसाबले चौथो नम्बरमा पर्ने थारू समुदायलाई हाल आएर बिभिन्न बिद्वानले उनीहरूको इतिहास बुद्धसँग जोड्न थालेका छन्। तर बुद्धसँग थारूको सम्बन्धबारेमा मिथक, लोकगाथाको उदाहरण पाँइदैन। उता हिन्दु धर्मका बिभिन्न देबीदेवता, भगवानसँगको मिथक, गाथा थारू समुदायको लोकसंस्कृतिको अभिन्न अंग बनेको प्रशस्त उदाहरण पाइन्छ। जसमध्ये श्रीकृष्ण गाथा पनि एक हो। जुन कृष्ण जन्माष्टमी अर्थात् अस्टिम्कीमा गाइन्छ। यसलाई पुस्तकको रुपमा श्रीकृष्णजन्माष्टमीको गीत भनेर थारू छात्र संघले २०२२ सालमा प्रकाशन गरेको छ। यो पुस्तक हाल अपर्याप्य छ। यो लेखमा प्रयुक्त गीत यसै पुस्तकबाट उद्धृत गरिएको छ। कृषि थारूको पुर्ख्याैली पेशा हो, यस गाथामा खेतीपातीबारे नै बढी बर्णन भेटिन्छ।

 Astimki 04थारू महिला तथा पुरूष दुबै श्रीकृष्णजन्माष्टीको ब्रत बस्छन्। गाउँको घरसंख्या हेरी टोल अनुसार टोलको एक दुई घरको भित्तामा श्रीकृष्ण लगायत चन्द्रमा, सूर्य, पाँच पाण्डव, कौरब, राम, सीता, रावण, डोली, बनजंगलदेखि मयूर, उँट, हात्ती, डुँगा, माछा, घोडा, भाले लगायत पशुपंक्षीको चित्र बनाउँछन्। र, साँझ प्रत्येक घरबाट चामल, बलिरहेको दियो, काँक्रो आदि लिएर पूजा गर्न जान्छन्। जन्माष्टमीमा पूजा गर्न बनाइएको चित्रको पात्र हेर्दा थारूहरू हिन्दुधर्मी तथा बनजंगलको छेउछाउमा बस्ने प्रकृतिप्रेमी भएको देखाउँछ। पूजा सम्पन्न भएपछि रातभरि श्रीकृष्णको गाथा गाइन्छ। त्यसो त विभिन्न समुदायमा पृथ्वी उत्पत्तिको अनेक किम्बदन्ती छ। थारू समुदायमा यही पृथ्वी उत्पत्तिको कथाबाट श्रीकृष्ण गाथाको शुरूवात हुन्छ।

 पहिले ते सिरिजल जलथल धरती

 सिरिजे ते गइल हो कुश कई दाभ।

 अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो। त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो। त्यही बिरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो। अन्य रुखविरुवा भए, जंगल बन्यो। श्रीकृष्णकी आमाले हलो बनाउन काठ लिन छोरालाई बन पठाउँछिन्। उनले हरिशलाई साल (जिन्ना) सैल र गटारलाई ढौठी तथा लठ्ठीलाई परँडी काठ काट्छन्। काठ काट्न उनीसँग सुनको बन्चरो हुन्छ। भोक मेटाउन भूजा हुन्छ। जस्तो :

Astimki 02 कँढवै ते चाँपल इसरू सोनके कुह्ररिया

 कँखवैते चाँपल इसरू भुजवा मिठाई।

 यहाँ ईसरू अर्थात ईश्वर भनेर कृष्णलाई सम्बोधन गरिएको छ। हलो बनाई सकेपछि कृष्ण आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ। यता उनकी आमाले छोरालाई खाजा बनाउन थाल्छिन्। थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ। श्रीकृष्णको आमाले बनाएको भोजनबारे यस्तो बर्णन छ :

 झलरी मकुनियाके भतवा बनाए

 उरूदा, मुँगीयाके दलवा बनाए

 रोहुवा भगेनवाके मुरीया निढाए

 घुटरू परेवनाके मसवा निढाए।

 अर्थात झलरी मकुनिया धानको भात, उर्द, मुँगको दाल, रोहु माछाको टाउको र परेवाको मासु उनले पकाउन थालिन्। त्यसबाहेक सागपात, घिउले दाल झानेको, खानलाई सुनकै थालमा भात, सुनकै कटोरामा तरकारी पस्केर दिएका आदिको बर्णन पनि छ। खेती गर्दा खेतमै खाजा खानु थारूहरूको दिनचर्य हुन्छ। यहाँ कृष्णकी आमा जसलाई जासु (यशोदा) भनिएको छ। खेतमै छोरालाई खाना पुर्‍याउन डेलवामा राखेर जान्छिन्। गाउँ भरिका मान्छे खेतमा ब्यस्त हुन्छन्। यता खान पुर्‍याउने महिलाहरू यो समयमा खाना पुर्‍याउन जाने भनेर सल्लाह गरि हुल बाँधी सँगै निस्किन्छन्। यो परम्परा थारूहरूमा अझै कायम छ। त्यसबेलाको गीत भन्छ :

 दश सखी आगे रि गैलाँ, दश सखी पाछे

 बीचवैमे जासु हो, डल्फट जावै।

अर्थात् दश जनाको अघि, दश जनाको पछि एक्काइस जनाको समुहमा यशोदा बीचमा कम्मर मर्काउँदै हिंड्छिन्। श्रीकृष्ण गाथामा शुरूमा पृथ्वीको उत्पत्तिपछि कृष्णलाई खेतीपाती गर्न लगाइएको दृष्यलोकन छ भने बीचमा आएर मात्र कृष्णको जन्मको कथा छ। उनकी आमालाई प्रसुति ब्यथाले च्यापेपछि चौकीदारलाई सुढेनी बोलाउन पठाइन्छ। सुढेनीको घर नदेखेकोले चौकीदारले बाख्रा,गाई, भैसीं, घोडा, हात्ती गोठाला, सुँगुर चढाउने सँग सोध्छ। पत्ता लगाउन नसक्दा कुवामा पानी भर्ने युवतीसँग सोध्छे। उसले चमार, सुचिकार, बिश्वकर्मा, ब्यापारी, (जोलहा) पछिको अग्लो घर सुढेनीको भएको जानकारी दिन्छ। यस गाथाले पहिले समाज मिलेर बसेको देखाउँछ। सुढेनी त्यत्तिकै नजाने बताउँछे। उसले हात्ती सवारी माँग्छे। हात्ती हुन्न, घोडा माँग्छे। घोडा पनि हुन्न, डोली माग गर्छे। उ डोलीमा चढी बल्ल जान्छे। अझै पनि थारू समुदाय प्रायः प्रसुति परम्परागत सुढेनीबाट नै गराइन्छ तर डोलीमा सवार गरी लाने पहिलेको जस्तो उच्च सम्मान भने छैन। सुढेनीले श्रीकृष्ण जन्मिने अनौठो अड्कल काट्न थाल्छे। जस्तो :

 ढोह्री ओर्से जन्मी हो कान्हा ढर्बी ढौरैया बीर नाउँ

 नाके ओर्से जन्मी हो कान्हा ढर्बी नकैया बीर नाउँ

 आँखे ओर्से जन्मी हो कान्हा ढर्बी अँखैया बीर नाउँ

 काने ओर्से जन्मी हो कान्हा ढर्बी कन्हैया बीर नाउँ

Astimki 01अर्थात ढोंह्री (नाइटो) बाट जन्म्यो भने ढोरैयाबीर, नाकबाट जन्म्यो भने नकैयाबीर, आँखाबाट जन्म्यो भने अँखैयाबीर र कानबाट जन्म्यो भने कन्हैयाबीर नाम राख्छौं। कृष्ण कन्हैया नामबाट परिचित भएकाले यस गाथा अनुसार कानबाट जन्मिएको मिथक देखिन्छ। जन्मिएको बालकलाई थारू समुदायमा प्रायले नाङलोमा सुताउने चलन छ। गाथामा यसको बर्णन छ।

 धोई कई सोरहीन सुप्पामे सुतावै

 उपरेसे डिहल सोरहिन लुगरा ओह्राई

 अर्थात बालकलाई नुहाई धोइ गरी सुप्पा (नाङलो) मा सुताइयो र सुढेनीबाट लुगा ओढाइयो। श्रीकृष्ण बिस्तारै टुकुटुक हिंड्ने भयो। जसरी थारूहरूको पुरूष सदस्य सानामा बाख्रा गोठालोमा सहभागी हुन्छ। कृष्णलाई पनि उनकी आमाले बाच्छा छोड्न बिहानै उठाउँछिन्। उनले सुनको खराउ, लठ्ठी, बाँसुरी, छाताको माग गर्छन्। आमाले संझाउछिन्– ती सुनका बस्तु राजाको घर हुन्छ छोरा, काठकै सामान जोहो गर्दिन्छु, त्यही दिएर जाऊ। यसरी श्रीकृष्ण गाथामा उनलाई बिशुद्ध किसान भनेर मात्र बर्णन गरेको देखिन्छ।

 कृष्णले झोला, लुगाको पनि माँग गर्छन्। शालकको झोला, डोम सर्पको झोलाको डोरी, धामिन सर्पको छालाको लुगा, सुगा सर्पको टुना बाँधी दिएपछि कृष्ण बल्ल ग्वाला जान्छन्। ग्वाला गएको बेला स्वर्ण बाँसुरी बजाउँदा घरैबाट राधा त्यसको आवाज सुनि मन्त्र मुग्ध हुन्छिन्। जस्तो–

 सोनके बँसुरिया कान्हा डिहला बजाई

 घरहीसे राधा  शब्द ओनाई

 यो श्रीकृष्णगाथा भित्तामा विभिन्न किसिमको चित्र बनाइ पूजा गर्दै रातभरि गाइन्छ। पहिलो रात नसकिए अर्काे रात पूरा गर्नुपर्छ, अधुरो छोड्न पाँइदैन। यसरी थारूहरूमा बिभिन्न देवीदेउताबारे वर्णन गरिएको लोकगाथा छ। जसको सोधखोज, संकलन, बिश्लेषण सहित प्रकाशन हुन जरूरी छ।

तस्बिर : विवेक चौधरी/दाङ

(लेखक थारु संस्कृतिमा कृष्ण चरित्र बिषयमा नेपाल संस्कृत विश्वविद्यालयबाट शोधरत छन्)

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *