रामपुर कृषि क्याम्पसमा थारु फुड फेस्टिबल हुने

कारी महतो/चितवन
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत थारु विद्यार्थीहरुको संयोजनमा थारु फुड फेस्टिवल एवम् साँस्कृतिक कार्यक्रम २०७३ हुने भएको छ।

उक्त क्याम्पसहरुमा अध्ययनरत विद्यार्थी विक्रम चौधरीले दिएको जानकारी अनुसार रामपुर कृषि क्याम्पसको नयाँ अडिटोरियम हलमा २०७३ भाद्र १ गते बिहान ठीक ११ बजेदेखि हुने फुड फेस्टिवलमा थारु सँस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि थारु सँस्कृति झल्किने नाचगान सहितको कार्यक्रम पनि हुने जनाइएको छ।

फुड फेस्टिवलमा थारु परिकारका खानाहरुको स्वाद लिंदै थारु साँस्कृतिक कार्यक्रमको समेत रसास्वादन गर्नका लागि जिल्लावासीलाई विशेष आमन्त्रण गरिएको छ । फुड फेस्टिवलमा घोङ्घी, बगिया, ढिकरी, झिंगे माछा लगायतका थारु खानाको स्वाद लिन पाइने जनाइएको छ । कार्यक्रमका लागि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र नेपाल पोलिटेक्निक इन्स्टिच्युट भोजाड चितवनले सहयोग गरेको जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *