समाजसेवी एवं माओवादी केन्द्रका सल्लाहकार खड्गबहादुर थनेतको निधन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ। थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसान गैरेले बताए ।
नवलपरासीको कावासोती नगरपालिका १४ डण्डा निवासी ६७ वर्षीय खड्गबहादुर थनेत दुई दिनअघि हृदयघात भई नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका थिए । आदिवासी जानजाति महासंघ नवलपरासीको पूर्व अध्यक्ष, राष्ट्रिय थारु संग्राहलयका अध्यक्ष, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद एवम् थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य थिए।

थनेतको आज नै नारायणी नदीको घाटमा अन्तेष्टी गरिने भएको पारिवारिक स्रोतले जानकारी दिए। थनेतको निधनप्रति नेकपा माओवादी केन्द्र नवलपुर र नवलपरासीले दुःख व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्र नवलपुर जिल्लाका संयोजक किसान गैरे र नेकपा माओवादी केन्द्र नवलपरासीका संयोजक घनश्याम यादवले आज शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेको हो ।
शोक वक्तव्यमा थनेतको निधनले कम्युनिष्ट आन्दोलनमा अतुलनीय क्षति पुगेको जनाइएको छ।

त्यस्तै आदिवासी जनजाति महासंघ कावासोती नगर समन्वय परिषदका अध्यक्ष देवीसरा पुलामी मगर, थारु कल्याणी कल्याण सभा नवलपरासीका अध्यक्ष गणेशमान महतो लगायतले वक्तव्य जारी गरि थनेतको निधन प्रति दुःख व्यक्त गरेका छन्।

यसैबीच थारु कल्याणकारिणी सभा नवलपरासी र आदिवासी जनजाति महासंघले थनेतको घर श्रद्धाञ्जली सभा गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *