गठबन्धनको रिले अनशनबाट १८ लाख आम्दानी

नयाँ संविधानप्रति बिमति जनाउँदै खुल्लामञ्चमा अनसन बसेको संघीय गठबन्धनले १८ लाख चन्दा संकलन गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको उक्त गठबन्धनले ३९ दिनसम्म रिले अनसन गर्दा उक्त रकम बराबरको रकम संकलन गरेको हो। सोही संकलित रकम उक्त अनसन अवधि भरमा खर्च गरिएको थियो।

‘ गठबन्धनमा आबद्ध ४२ सांसदबाट दश लाख ५० हजार र बाँकी २५ हजारका दरले अन्य दलबाटचन्दा संकलन गरिएको थियो’, तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले भने। उनका अनुसार यसरी उठाइएको रकमले नै ३९ औं दिनसम्म अनसनमा खर्च गरिएको हो।

अनसनमा बसेको उक्त गठबन्धनमा २९ दल आवद्ध रहँदै आएका छन्। जसअनुसार ७ लाख २५ हजार रुपैयाँ दलीय आधारमा संकलित भएको थियो भने गठबन्धनमा आवद्ध रहेका दलका ४२ जना सांसदवाट १० लाख ५० हजार रुपैयाँ संकलन गर्ने कार्यक्रम तय भएको थियो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले सांसद हुने पार्टीलाई भने दोहोरो रकम संकलन गर्नु पर्ने अवस्था रहेको थियो । ‘ब्यवस्थापिका सांसद नरहेका पार्टीले २५ हजार मात्रै दिए पुग्थ्यो भने सांसद रहेका पार्टीले चाँही पार्टी र सांसद दुवैले २५–२५ हजारका दरले दिनुपर्ने गरी उक्त रकम संकलन गरिएको हो,’ प्रवक्ता झाले भने ।

उनका अनुसार उक्त संकलित रकम मध्ये टेन्ट, पाल, कुर्सी, माइक, सुरक्षालगायत अनसनस्थलमा आइपर्ने अन्य आवाश्यकीय कार्यमा खर्च गरिएको छ । उक्त संकलित रकम खर्च गर्नका लागि संघीय समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राई, तमसपा बरिष्ठ नेता रामनरेश राय र थरुहट तराई पार्टीका भानु चौधरीको हस्ताक्षर हुने गरी चेकबुक उपलब्ध गराइएको थियो ।

उक्त रिले अनसनमा ३९ दिनसम्म बस्दा करिव ८ लाख ५० हजार खर्च भएको सो अनसनको ब्यवस्थापनको जिम्मेवारीसमेत पाएका रामसपाका प्रवक्ता झाले भने । ‘अनसन अवधिभर ८ लाख ५० हजार जति खर्च भएको छ, हिसाब गर्दैछौं,’ झाले भने । उनका अनुसार उक्त अनसनमा ऐक्यवद्धता जनाउन आएका अन्य सहयोगी र सरोकारवाला संस्थाले पनि आर्थिक र भौतिक सहयोग गरेका छन् ।

तर, उक्त अनसनस्थलको लागि प्रत्येक पार्टी र प्रत्येक सांसदले २५–२५ हजार दिने सहमति गरे पनि राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले भने अझै पनि रकम उपलब्ध गराएका छैनन्। गठबन्धनको बैठकको निर्णायानुसार दिनु पर्ने महतो सदभावनाको हकमा पार्टी र ४ सांसदको १ लाख २५ हजार, झाले पार्टी र १ सांसदको ५० हजार र यादवको पार्टी र सांसदको गरी ५० हजार रकम बुझाउनु पर्नेमा अझै बुझाएका छैनन, स्रोतले भन्यो ।

‘अरु पार्टीको आम्दानीको विभिन्न स्रोतहरु रहेका छन तर हाम्रो पार्टीको आम्दानीको स्रोत छैन, कसरी रकम दिनु ?’ झाले भने । अनसनस्थलको खर्चका लागि रकम दिने प्रतिवद्धता जनाए पनि तत्काल दिन नसकिएको र उपयुक्त समयमा सो रकम दिइने झाले जनाएका छन् ।

यता, उक्त अनसनस्थल अवधिभर खुल्लामञ्च नपुगेका सदभावना अध्यक्ष महतो र तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर मध्ये ठाकुरले भने रकम उपलब्ध गराइसकेका छन्। गठबन्धनप्रति असन्तुष्ट महतो र झाले भने पछिल्लो दुई हप्तादेखि अनसनस्थलमा प्रतिनिधि पनि पठाउन छाडेका थिए।

अनसनको ३९ औं दिन अर्थात अन्तिम ‘भावी प्रधानमन्त्री’ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेर ऐक्यवद्धता जनाएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *