संघीय गठबन्धन ससर्त वार्तामा बस्न तयार

संघीय गठबन्धनले सरकारले पत्राचार गरेको अवस्थामा आफू वार्ताका लागि तयार रहेको बताएको छ । तर, उसले आफूहरुका माग सम्बोधनका लागि सरकार तयार हुनुपर्ने सर्त राखेको छ ।

गठबन्धनले बिहीबार अपरान्ह संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बैठक गरी सरकारले माग सम्बोधन गर्ने लचकतासहित पत्राचार गरेको अवस्थामा वार्तामा जाने निर्णय गरेको हो ।

बैठकपछि गठबन्धनका नयाँ प्रवक्ता डा. ओम गुरुङले आफूहरु वार्तामा बस्न तयार रहेको तर त्यसका लागि सरकारले माग सम्बोधन गर्ने लचकतासहित पत्राचार गर्नुपर्ने बताए । उनले गठबन्धन र सरकारबीच वार्ता हुने/नहुने कुरा सरकारमा निर्भर रहेको बताए । ‘वार्ता जसले गरे पनि हाम्रा माग पूरा हुनुपर्छ,’ गुरुङले भने, ‘हामी वार्तामा बस्न तयार छौं ।’

यसैगरी नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्री केपी ओलीले वार्तामा आउन आह्वान गरेको पत्रको जवाफ दिने बताए । उनले पत्रमा कस्तो भाषा राख्ने भन्नेबारे छलफल चलिरहेको जानकारी दिए ।

बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका शिर्ष नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने अनुपस्थित थिए ।

गठबन्धनले पहिचानसहितका प्रदेश बनाइनुपर्ने मागसहित काठमाडौंको खुलामञ्चमा १० दिनदेखि रिले अनसन गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *