सरकारको पत्र नआएसम्म वार्तामा नबस्ने गठबन्धनको निर्णय, काठमाडौंमा १२ घन्टे रिले अनशन बस्ने

संघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक-फरक धारणा आएपछि शुक्रबार गठवन्धनको बैठक बसेको छ ।

बैठकमा गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले पठाएको भनिएको पत्रै नपाएको बताए । यद्यपि सञ्चार माध्यमहरुमा आएका पत्रबारे छलफल भएको छ । गठवन्धनले प्रधानमन्त्रीले पठाएको भनिएको पत्रमा प्रयोग भएको भाषामा आपत्ति जनाएको छ । उनका अनुसार संघीय गठवन्धनको बैठकले मधेसी मोर्चालाई नभई संघीय गठवन्धनलाई पत्र पठाए मात्र वार्तामा बस्ने निर्णय गरेको छ ।

संघीय गठवन्धनले जेठ १७ गतेपछि काठमाडौंमा रिले अनशन बस्ने निर्णय गरेको छ । गठन्धनले अहिले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको छ र, यो भोलि शनिबार सकिनेछ । १६ र १७ गते मधेसमा आमसभा राखिएको छ । त्यसपछि काठमाडौंको कुनै एक स्थानमा १२ घन्टे रिले अनशन बस्ने र त्यसलाई जिल्ला जिल्लामा विस्तार गर्ने निर्णय भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *